अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको चामे गाउँपालिकास्थित छिम्बु र कोतो भिरलाई चट्टान आरोहण (रक क्लाइम्बिङ) गन्तव्यका रुपमा विकास गरिने भएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोग, नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको संयोजन र फ्रान्सेली नागरिकद्वय लुडोभिक ज्याम्वेसी र ल्याभिनको विशेष प्राविधिक सहयोगमा रक क्लाइम्बिङका लागि परीक्षण गरिएको हो ।
पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्माले यही वैशाख ९ गतेदेखि २१ गतेसम्म फ्रान्सेली नागरिकद्वयले रक क्लाइम्बिङ निर्माणका लागि गरेको प्राविधिक सहयोग एवं काममा स्थानीय पञ्चमाया तामाङ र लक्मी तामाङले सहयोग गरेको जानकारी दिए ।
उनले यी दुवै भिरमा रक क्लाइम्बिङ गराइ पर्यटकीय रुपमा उपयोग गर्न सकिने सम्भावना देखिएकाले हिमाल आरोहणको पूर्वाभ्यासका लागि उपयुक्त गन्तव्य बन्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले रक क्लाइम्बिङको नयाँ गन्तव्यको रुपमा यी दुई स्थान विकास गरिने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोख्रेलले रक क्लाइम्बिङ सञ्चालन गर्न सके पर्यटकको बसाई लम्ब्याउन सहयोग पुुग्ने विश्वास व्यक्त गरे । फ्रान्सेली नागरिकद्वय लुडोभिक ज्याम्वेसी र ल्याभिनले रक क्लाइम्बिङको विश्वव्यापी अवस्थाका साथै ती दुवै भीरको स्थलगत सम्भावनाबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङ, सचिव मनशान्त घिमिरे, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले नेपालमा रक क्लाइम्बिङको सम्भावनालगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।