पाँचपोखरी र हेटौँडा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध कायम


टुरिजम पाना संवाददाता काठमाडौं । १० मंसिर २०८०

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध जोडिएको छ । आइतबार पाँच पोखरी थाङपाल– ४ स्थित नागी थामडाँडा एवम पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोचे (पद्मा सम्भव) को प्रतिमा शिलान्यास कार्यक्रममा दुई पक्षबीच भगिनी सम्बन्धको लागि समझदारी भएको हो ।

पाँच पोखरी थाङपाल गाउँपालिकाका प्रतिनिधि तथा सर्वसाधारण र हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधिको उपस्थितिमा अध्यक्ष टासी लामा र मेयर मीनाकुमारी लामाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

गाउँपालिकाका अध्यक्ष लामाले हिमाली भेगमा रहेको पालिका र तराई क्षेत्रको उपमहानगरपालिकाबीच स्थापित सम्बन्धले साझेदारी प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । यस साझेदारीले दुई पालिकाबिचको सम्बन्ध प्रगाढ हुने संगै आफ्नो पालिकाको आयोजनामा हेटौंडाले देखाएको माया र सद्भावप्रति आफू आभारी रहेको अध्यक्ष लामाले बताए।

त्यसैगरी  हेटौँडा उपमहानगर पालिकाकी प्रमुख  लामाले पाँच पोखरीको विकासका लागि हेटौँडा उपमहानगरपालिकाको सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरिन् । “हेटौंडाको मन अब पाँचपोखरीसंग जोडिएको छ , थामिडाडा जस्तो पवित्र भूमिमा बन्न लागेको नयाँ योजनामा सघाउने आफ्नो र कार्यपालिकाको निर्णयप्रति अत्यन्तै गर्व महशुस भएको छ” उनले भनिन् ।

पेमाछल उद्यान केन्द्रका प्रमुख लामा फूर्वा सिङ्गी लामाले  पाँच पोखरी पर्यटकीय गन्तव्य रहको भन्दै त्यसको विकासका लागि दुवै पालिका मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 

१० मंसिर २०८०