पोखरा महोत्सवमा उहिलेको पोखरा


टुरिजम पाना पोखरा । ७ माघ २०७९

पर्यटकीय नगरी पोखरामा उहिलेको पोखरा झल्काउने तस्वीरहरु प्रदर्शनीमा राखिएको छ । यूनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी महोत्सवमा उहिलेको पोखरा झल्काउने तस्वीरहरु प्रदर्शनमा राखिएको हो ।

महोत्सव छिर्ने बित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ । प्रर्दशनीमा ७० वर्षअघिको तालबाराही मन्दिरदेखि पोखरामा पहिलोपटक बस आउँदासम्मका तस्वीर राखिएका छन् । उहिलेको पोखरा कस्तो थियो ? संस्कृति, रहनसहन के थिए ? मानिसहरु के गर्थे ? समाज कस्तो थियो ? तस्वीर आफै बोल्छन् ।

तस्वीरमा उबेलाको फेवा, बेगनास र रुपातालको स्वरुप हेर्दा जोकोहीलाई अनौठो प्रतित हुन्छ । विसं २०२६ मा पोखरा विमानस्थल बन्दा काममा खट्ने श्रमजीवी, विसं २०१९ तिर बाँसको पुलबाट सेती नदी तरिरहेका महिलाहरु, त्यसबेला पोखरामा चल्ने गोरुगाडा आदिका दृश्यले मनलाई उद्धेलित पार्छ ।

तस्वीरले आजको उन्नत, विकसित र झकिझकाउ पोखराभन्दा दशकौँअघिको पोखरातिर मानिसलाई पुर्‍याउँछ । पोखराकै सुनील उलकले सङ्कलन गरेका तस्वीरलाई प्रर्दशनीमा राखिएको महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । उनका अनुसार विदेशी र नेपालीले खिचेका तस्वीर प्रदर्शनीमा छन् ।

“महोत्सवमा आउने दर्शकले तस्बिर प्रर्दशनीलाई पनि चाखपूर्वक अवलोकन गर्छन्, ऐतिहासिक तस्बिर राखिएकाले प्रदर्शनीले महत्व पाएको हो”, उहाँले भने । अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका तस्बिरलाई क्यामेरा, मोबाइलमा कैद गर्न भने पाउँदैनन् ।

तस्वीर सङ्कलक उलकले विदेशीसहित आफ्नो बुबा जगन्नाथले खिचेका तस्बिर प्रर्दशनीमा राखिएको बताए । जगन्नाथलाई पोखराको पहिलो फोटोग्राफरका रुपमा समेत चिनिन्छन् । सन् १९६५ मा पहिलोपटक नेपाल आएका अमेरिकी नागरिक डग हलबाट उनले तस्वीर खिच्न सिकेका थिए । प्रदर्शनीमा राखिएकामध्ये विदेशीले खिचेका तस्बिर रङ्गीन छन् भने नेपालीका श्यामश्वेत ।

“आजभन्दा ६०/७० वर्षअघिको पोखराको समाज, भूगोल, संस्कृति र रीतिरिवाजको झल्को तस्वीरहरुमा छ”, उलकले भने, “यी तस्वीर हाम्रा अमूल्य पूँजी हुन्, इतिहासका साक्षी हुन्, यिनले भावी पुस्तालाई पुरानो नेपाल चिनाउँछन् ।”

प्रर्दशनीमा विख्यात भुभर्गविद् टोनी हेगनले खिचेको तस्वीरसमेत राखिएको छ । “उहिलेको पोखरा झल्काउने ३८ फोटो मात्र प्रदर्शनीमा छन्, धेरै तस्बिर अमेरिकी पिस कोर भोलिन्टियरले खिचेका छन्, केही तस्वीर मेरो बुबाका पनि छन्”, उलकले भने ।

उलकसँग पोखरासँग सम्बन्धित दस हजार तस्बिर सङ्ग्रहित छन् । शुक्रबारदेखि काठमाडौँस्थित सैनिक मुख्यालयमा चलिरहेको तस्वीर प्रदर्शनीमा पनि आफूले सङ्कलन गरेका सैनिकसँग सम्बन्धित तस्बिर राखिएको उनको भनाइ छ ।

गत पुस २७ गतेदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सव आउँदो सोमबार सकिँदैछ । महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ । रमाइलो बाल उद्यान, कलाकारको साङ्गीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायतले मेलामा आकर्षण बढाएको छ ।

महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने आयोजकले जनाएको छ ।

महोत्सवमा दुई सय ५८ व्यावसायिक कक्ष छन् । तेह्र दिनसम्म चल्ने महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ । (रासस)

७ माघ २०७९