‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सम्पन्न, विद्यार्थीका ५० नवीनतम प्रोजेक्ट सार्वजनिक


टुरिजम पाना संवाददाता काठमाडौं । ३० श्रावण २०८२

काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलमा आयोजना गरिएको ‘प्रेसिडेन्सियल इन्नोभिस्टा–२०२५’ टेक तथा बिजनेस कार्निभल आइतबार सम्पन्न भएको छ। दुई दिनसम्म चलेको प्रदर्शनीमा बीएससी आइटी अध्ययनरत करिब १७० विद्यार्थीका ५० प्राविधिक तथा व्यावसायिक सम्भावनायुक्त प्रोजेक्टहरू प्रदर्शन गरिएका थिए।

अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीको सम्बन्धनमा सञ्चालित विद्यालयले आयोजना गरेको कार्यक्रममा एआई, साइबर सुरक्षा, सफ्टवेयर तथा वेब डेभलपमेन्ट, मेशिन लर्निङ, रोबोटिक्स, मल्टिमिडिया तथा आइओटीसँग सम्बन्धित परियोजना सोकेस गरिए। स्वास्थ्य, पर्यटन, वित्त, कृषि, सुरक्षा र मनोरञ्जन क्षेत्रलाई लक्षित नवीन अवधारणा भएका मोडलहरूले अवलोकनकर्ताको विशेष चासो पाएका थिए।

कार्यक्रमको उद्घाटन विद्यार्थीले विकास गरेको मोबाइल एपमार्फत इलेक्ट्रिक दियो बालेर गरिएको थियो। ‘स्मार्ट हेल्मेट’, ‘स्मार्ट मिरर’, ‘स्मार्ट सिँचाइ प्रणाली’, स्वास्थ्य पूर्वानुमान एआई सिस्टम, सेनिटरी प्याड भेन्डिङ मेसिन, फुटबल खेल्ने रोबोट, ड्रोन डेलिभरी सिस्टम, सेयर बजार पूर्वानुमान सफ्टवेयर, साइबर सुरक्षा प्रणाली र मोबाइल गेम जस्ता परियोजनाले प्रदर्शनीमा स्थान पाएका थिए।

स्वास्थ्य मन्त्री प्रदिप पौडेल, पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधर र शिशिर खनाल, पूर्व मन्त्री डा. वेदुराम भुसाल, नेपाली काँग्रेस महामन्त्री गगन थापा, शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्बरबहादुर थापा, सांसद डा. चन्द्र भण्डारी, पूर्व राजदूत प्रमेश हमाल, राष्ट्रिय खेलाडी, कलाकार, विभिन्न सेलिब्रेटी, कर्पोरेट लिडर र प्राध्यापकहरूले प्रदर्शनी अवलोकन गर्दै विद्यार्थीको सिर्जनात्मकता र क्षमता प्रशंसा गरेका थिए।

आयोजकका अनुसार यस कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै लगानीकर्तासम्म विद्यार्थीका परियोजना पुर्‍याउने योजना रहेको छ।

३० श्रावण २०८२