स्याङ्जाको दरौं सिरुबारीमा रजत महोत्सवको रौनक, पर्यटनमन्त्रीले गरे उद्घाटन


टुरिजम पाना स्याङ्जा । ५ फाल्गुन २०७९

दक्षिण एसियाकै पहिलो नमुना सामुदायिक होमस्टे स्याङ्जाको दरौं सिरुबारीमा रजत जयन्तीको रौनक छ ।

होमस्टेले २५ वर्ष पुगेको अवसरमा आज रजत महोत्सवको भव्य कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले सिरूबारीमा समुद्घाटन गरेका हुन् ।

दुई दिनसम्म चल्ने महोत्सवमा मन्त्री किराँती बिहिबार बेलुकी नै सिरूबारी पुगेर कार्यक्रममा सहभागी भएका थिए । मन्त्रीसँगै स्याङ्जा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य राजु थापा, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, स्याङ्जा जिल्लाका प्रमुख अधिकारी शशिधर घिमिरे लगायतको सहभागीता थियो ।

कार्यक्रममा मन्त्री किराँतीले रजत जयन्ती समारोहको समुद्घाटन गर्दै होमस्टेका नायक स्व क्या. रूद्रमान गुरूङ गाउँ पर्यटनको नायक भएको बताए । गाउँ पर्यटनलाई र सिरूबारीलाई होमस्टे अध्ययन केन्द्रका रूपमा विकास गर्ने सन्दर्भमा आफू प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका सांसद थापाले क्या. रूद्रमान गुरूङले ग्रामीण पर्यटनका क्षेत्रमा नमेटिने इतिहास कोर्नुभएको स्मरण गरे । उनले सिरूबारीको विकासमा रूद्रमान गुरूङले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा ईन्द्रेणी परिवारका कृष्ण कडेल, मनमाया वाइवा, छत्र शाही, राजन गुरूङ, वसन्त थापा लयायतका कलाकारहरूबाट सांस्कृतीक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा रजत महोत्सवको अवसरमा सिरूबारी दर्पण २०७९ नामक कृति लोकार्पण गरिएको थियो ।

उक्त पुस्तकमा नेपालको पहिलो पर्यटकीय गाउँ सिरूबारी र होमस्टेका महानायक गुरूङको योगदान र होमस्टे स्थापनाका विविध पक्ष समेटिएको छ। सिरूबारी सामुदायिक होमस्टेले कार्यक्रमको आयोजना गरेको हो ।

५ फाल्गुन २०७९