बेलायत वेल्सको पर्यटन सद्भावना दूतमा सापकोटा


टुरिजम पाना काठमाडौं । २३ पुष २०७९

प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिज्म गुवविल एम्बेस्टर) नियुक्त भएका छन् ।

नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावनादूतमा नियुक्त गरेको हो । सापकोटालाई मन्त्रिस्तरीय निर्णयअनुसार सद्भावनादूत नियुक्त गर्ने निर्णय गरिएको हो । सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गरे ।

नवनियुक्त सद्भावनादूत सापकोटाले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिएर सफलतापूर्वक निर्वाह गर्ने बताए ।

उनले भने, “कार्यादेशसहित जिम्मेवारी लिएको छु, अन्य मुलुकका सदभावनादूतसँग पनि समन्वय र सहकार्य गर्दै पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँगको साझेदारितामा सरकार–सरकारबीच प्रवद्र्धनात्मक अभियान चलाउने योजना बनाएको छु ।”

उनले पर्यटन प्रवद्र्धनका साथै नेपालको आवश्यक सहयोगका लागि रणनीतिक योजनासहित काम गर्ने योजना रहेको बताए । सन् २००७ देखि सन् २००९ सम्म एनआरएनएको पर्यटन प्रवद्र्धन कमिटीको सदस्य भएर काम गरेका सापकोटाले सन २०१३ देखि सन् २०१५ सम्म सोही कमिटीको उपसंयोजक बनेका थिए ।

त्यस्तै उनले सन् २०१६ देखि सन् २०१८ सम्म डेनमार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गरे । यसैगरी सापकोटा सन् २०१९ देखि २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जनप्रतिनिधिका रूपमा नियुक्त भए ।

पर्यटन क्षेत्रमा विशेष दखल राख्ने सापकोटा हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजक हुन् ।

२३ पुष २०७९