सौर्य एयरलाइन्सको ‘फेरी फ्लाइट’मा कर्मचारीका परिवार कसरी ? के हुन्छ बीमा ?


टुरिजम पाना संवाददाता काठमाडौँ । । ९ श्रावण २०८१

सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा  सवार १९ मध्ये १८ जनाको मृत्यु भएको छ । हाल पाइलट मनिष शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

नियमित उडानइतर अर्थात् सौर्यको उक्त ‘फेरी फ्लाइट’मा पाइलट, को–पाइलट र प्राविधिक सवार हुने भएकाले अन्य यात्रु नहुनुपर्ने हो । तर आजको उक्त उडानमा एयरलाइन्सका प्राविधिक मनुराज शर्मासँगै उनकी श्रीमती र छोरा अधिराज शर्मा पनि थिए । यसरी उनीहरु विमानमा सवार हुनुलाई विभिन्न कोणले विश्लेषण गर्न थालिएको छ ।

काठमाडौँबाट सीचेकका लागि पोखरा जान लागेको विमानमा प्राविधिक बाहेक अन्य जान पाउने वा नपाउने भन्ने प्रश्न उब्जेको छ । साथै यसरी अन्य यात्रुलाई विमानमा सवार गराउने गल्ती हो वा होइन भन्ने पनि अध्ययनबाट पुष्टि हुने नै छ । त्यसबाहेक यहाँ ती मृतकका परिवारले बीमा वापतको रकम पाउँछन् वा पाउँदैनन् भन्ने पनि प्रश्न छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले त्यसप्रकारको उडानमा प्राविधिक बाहेकका सामान्य यात्रु जान नपाउने नियम रहेको बताए । तर यसविषयमा सम्बन्धित विमान कम्पनीले नै स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

सौर्य एयरलाइन्सले जारी गरेको यात्रुको सूचीको कैफियतमा तीन जनालाई नै सौर्य एयरलाइन्स स्टाफ भनिएको छ ।

साथै यात्रहरु सबैलाई एडल्ट अर्थात् वयस्कको सूचीमा राखिएको छ । यसरी हेर्दा एयरलाइन्सले नाबालकलाई पनि एडल्टका रुपमा राखेकाले गलत तथ्यांक पेस गरी सवार गराएको हो कि भन्ने आशंका गर्न सकिन्छ ।

यद्यपि यसबारेमा सम्बन्धित कम्पनी वा अध्ययन समितिले नै निर्णय गर्ने अपेक्षा गर्न सकिन्छ ।

त्यसबाहेक यात्रुको बीमा रकम पाउने वा नपाउने भन्ने सन्दर्भमा भने सम्बन्धित विमान कम्पनीको नीति, दायित्व कानूनी नियम र विशेष व्यवस्थाका आधारमा हुने देखिन्छ ।

९ श्रावण २०८१