शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ सङ्कलनका लागि दुई दिन खुला


टुरिजम पाना कञ्चनपुर । ९ माघ २०८२

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दालाई लक्षित गर्दै घर तथा गोठ छाउन प्रयोग हुने खरखडाइ सङ्कलनका लागि निकुञ्ज क्षेत्र खुला गरेको छ। निकुञ्ज कार्यालयले दुई दिनका लागि निर्धारित स्थानबाट खरखडाइ सङ्कलन गरी निकासी गर्न अनुमति दिएको हो।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले निकुञ्जभित्रको सरसफाइ र आर्थिक रूपमा कमजोर स्थानीय बासिन्दाको आवश्यकता पूरा गर्ने उद्देश्यले यो व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार माघ २२ र २३ गते पश्चिमी सेक्टर तथा पूर्वी सेक्टरमा माघ २५ गते प्रवेश खुला रहनेछ। प्रवेशका लागि प्रतिव्यक्ति ५० रुपैयाँको टिकट अनिवार्य गरिएको छ।

खरखडाइ सङ्कलन गर्न बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ। यस अवधिमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरिने निकुञ्ज कार्यालयले जनाएको छ।

सूचना अधिकारी वाग्लेले खरखडाइ सङ्कलनले निकुञ्जभित्रका सुक्खा घाँस व्यवस्थापनमा सहयोग पुग्नुका साथै स्थानीयको आवश्यकता पनि पूरा हुने बताए। “यसले घाँसे मैदान व्यवस्थापनलाई सहज बनाउँछ,” उनले भने।

निकुञ्जले हरेक वर्ष घाँसे मैदान संरक्षण तथा व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ। केही क्षेत्रमा स्थानीयद्वारा गरिने खरखडाइ सङ्कलन नै प्रभावकारी व्यवस्थापनको उपाय बन्दै आएको निकुञ्जले जनाएको छ।

९ माघ २०८२