कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान


टुरिजम पाना संवाददाता काठमाडौं । २ मंसिर २०८०

भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छिन् ।

कालापत्थरमा ५ हजार ३१७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी हुन् ।

यसअघि कालापत्थरमा महिला स्काई डाइभको ५ हजार ३४२ मिटरको रेकर्ड कायम थियो । महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गरेकी हुन् । न्यूजिल्याण्ड र अमेरिकाका दुई स्काई ड्राइभरको रेकर्ड थियो ।

४१ वर्षीय महाजन भारतको पुनेकी स्काइ डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छिन् । उनले भारतको प्रसिद्ध पद्मश्री पुरस्कार प्राप्त गरिसकेकी छिन् । ‘एभरेस्ट स्काई डाइभ’ कम्पनी मार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गरेको कम्पनीले जनाएका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए ।

महाजनको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वर्ल्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौंमा आयोजिक एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काइ डाइभ गरेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले विश्व रेकर्ड राखेकोमा महाजनलाई बधाई दिंदै यस्ता साहसिक क्रियाकलापले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्काई डाइभ महाजनले लामो समयदेखिको आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा आफू सक्रिय रुपमा लाग्ने बताइन् ।

एभरेस्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डेका अनुसार एभरेस्ट स्काई डाइभ असाध्यै आकर्षक र साहसिक खेलको रुपमा चर्चित छ । चर्चित अन्तर्राष्ट्रिय मिडिया सीएनएनले जीवनभरमा गर्नुपर्ने साहसिकमध्ये स्काई ड्राइभलाई पाँच नम्बरमा राखेको छ ।

‘धेरै विदेशी नागरिक सगरमाथा आरोहण र पदयात्रा गर्न आउँछन् । तर, सगरमाथा आरोहण गर्न नसक्नेलाई सगरमाथाको उचाइबाट स्काई डाइभ गर्ने फरक दृष्टिकोणबाट सगरमाथाको अवलोकन गर्छन् । यो पनि मूल्यवान् कुरा हो । उनीहरुले ‘स्टोरी’ लिएर जान्छन् । यसले नेपाल गन्तव्यको प्रवर्द्धन हुन्छ’, अध्यक्ष पाण्डेले भने ।

स्काई डाइभ एक साहसिक खेल पर्यटन हो । विश्वभर सात लाख स्काई ड्राइभर रहेको बताइन्छ । दुबईमा समुद्रबीचको टापुमा स्काई डाइभ गरिन्छ । मरुभूमिमा पनि यो साहसिक खेल खेलिन्छ ।

इजिप्टमा पिरामिडको अगाडि स्काई डाइभ हुन्छ । स्काई डाइभमा एरियल फोटोग्राफी हुन्छ । जुन जीवनकालकै बहुमूल्य हुन्छ । नेपालको स्काई ड्राइभमा पछाडि सगरमाथा पारेर फोटो लिइने हुनाले विश्वभरबाट स्काई ड्राइभको आकर्षण हुन्छ ।

मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काई डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताए । स्काई डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले उल्लेख गरे ।

नेपालमा सन् २००८ मा एभरेष्ट स्काई डाइभ सुरु भएको हो । यसले धेरै विश्व रेकर्ड कायम भएको छ । रासस

 

२ मंसिर २०८०