धुलो, हिलो र असजिलोपनको चिनारी बन्दै आएको सैनिक मञ्चको दक्षिण चउर अब हरियाली र खुलापनको प्रतीक बन्दै जाने भएको छ। काठमाडौं महानगरपालिकाले उक्त क्षेत्रलाई आधुनिक, सुरक्षित र सर्वसाधारणमैत्री खुला सार्वजनिक स्थलमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ।
महानगरले करिब २ करोड ७० लाख रुपैयाँ लगानीमा चउरमा वरमुढा ग्रास रोप्ने तयारी गरेको हो। योजना अन्तर्गत जमिन सम्याउने, मलिलो माटो थप्ने र व्यवस्थित ढंगले घाँस विस्तार गरिनेछ। यसले वर्षायाममा हिलो र हिउँदमा धुलो उड्ने दीर्घकालीन समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।
सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार चउरको सतह मिलाएर करिब तीन इञ्च माटो बिछ्याइ वरमुढा ग्रास रोपिनेछ। साथै, वर्षात्को पानी व्यवस्थापनका लागि छ मिटर गहिराइ र १.२ मिटर व्यासका आठ वटा आकाशे पानी संकलन पिट निर्माण गरिनेछन्।
हाल बालबालिकाको खेल, युवाहरूको भेटघाट, ज्येष्ठ नागरिकको विश्राम र सामाजिक कार्यक्रमको केन्द्र बनेको यो चउर परियोजना सम्पन्न भएपछि अझ व्यवस्थित, सुरक्षित र आकर्षक बन्ने महानगरको दाबी छ।
महानगरपालिकाले यो योजनालाई सहरी हरियाली विस्तार, वातावरणीय सन्तुलन, सामाजिक अन्तरघुलन र काठमाडौंको सौन्दर्य वृद्धि सँग जोडेर हेरेको छ। व्यस्त राजधानीको मुटुमा सास फेर्न मिल्ने खुला स्थान थपिनु काठमाडौंवासीका लागि सुखद खबर बनेको छ।








