पर्यटन सहर पोखराको मुख्य आकर्षण फेवाताल किनारमा आगामी पुस १३ देखि १७ गतेसम्म भव्य सडक महोत्सव हुने भएको छ। रेष्टुरेन्ट एन्ड बार एशोसियसन नेपाल (रेवान) पोखराले इस्वी संवत् २०२६ लाई विशेष बनाउँदै २७औँ संस्करणको सडक महोत्सव आयोजना गर्न लागेको जनाएको छ।
पत्रकार सम्मेलनमार्फत रेवान अध्यक्ष विश्वराज पौडेलले ‘सडकमै खाऊँ, सडकमै रमाऔँ’ नारासहित करिब साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार पछिल्लो समय जेनजी आन्दोलनका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा पनि दिगो पर्यटनलाई अगाडि बढाउने उद्देश्यले महोत्सव निरन्तरता दिइएको हो।
पौडेलले सडक महोत्सवले पोखरालाई नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गरेको उल्लेख गर्दै, “कुनै समय गोवा वा थाइल्यान्ड जाने चलन थियो, तर अहिले पोखरा नै नयाँ वर्ष मनाउने उत्कृष्ट स्थान बनेको छ,” भने।
आयोजकका अनुसार महोत्सवले संकटपछि थलिएको पर्यटन व्यवसायलाई उठाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। पोखरा सडक महोत्सव अब केवल सांस्कृतिक गतिविधि नभई सहरकै पहिचान र इतिहाससँग गाँसिएको कार्यक्रमका रूपमा विकसित भएको रेवानले जनाएको छ।
महोत्सव संयोजक वसन्त गौतमका अनुसार कार्यक्रममा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभूषा प्रदर्शन, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिकारको स्टल, प्रत्यक्ष कन्सर्ट, डुँगा दौड (बोट रेस), वेटर रेस, टग अफ वारलगायत प्रतियोगिताहरू रहनेछन्। पर्यटक लक्षित विशेष खेल र सडक नाटकमार्फत चेतनामूलक सन्देश पनि प्रवाह गरिने छ।
त्यसैगरी, पोखरा तथा आसपासका हस्तकला, चित्रकला, काठकाम, कृषि तथा वनस्पति सम्बन्धी उपजहरूलाई प्राथमिकता दिँदै प्रदर्शनी राखिने गौतमले जानकारी दिए। “पोखरा आफैँमा खुला संग्रहालय जस्तै सहर हो, यस महोत्सवले त्यो पहिचानलाई झनै प्रस्ट बनाउँदै शहरको अर्थतन्त्रमा ऊर्जा थप्ने विश्वास राखेका छौँ,” उनले भने।
होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पनि महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रूपमा निरन्तर प्रवद्र्धन गरिरहेको बताए।








