मुस्ताङमा विदेशी पर्यटक आकर्षण झनै बढ्यो, ११ महिनामै गत वर्षको तुलनामा उल्लेख्य वृद्धि


टुरिजम पाना मुस्ताङ । १९ मंसिर २०८२

मुस्ताङमा यस वर्ष विदेशी आगन्तुकको आगमन गत वर्षको तुलनामा झनै बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मै विदेशी पर्यटक आगमन १०.६१ प्रतिशतले उकासिएको छ।

एक्यापको तथ्याङ्कअनुसार गत वर्ष अर्थात् सन् २०२४ मा १२ महिनाभरि एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। तीमध्ये एक लाख नौ हजार ५४९ जना सार्क राष्ट्रका र २६ हजार १७० जना अन्य मुलुकका थिए।

तर सन् २०२५ मा डिसेम्बर महिना अझ बाँकीै रहँदा मुस्ताङ आगमन गर्ने विदेशी पर्यटकको सङ्ख्या एक लाख ५० हजार १३० पुगेको छ। कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार यस वर्षका ११ महिनामा मात्रै सार्क मुलुकका एक लाख २३ हजार २५३ र अन्य मुलुकका २६ हजार ८७७ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

यद्यपि, गुप्ताका अनुसार अगस्ट र सेप्टेम्बर महिनामा प्रतिकूल मौसम तथा युवाहरूको ‘जेनजी आन्दोलन’ का कारण पर्यटक आगमनमा केही गिरावट देखिएको थियो।

समग्रमा भने २०२५ को पहिलो ११ महिनामा मुस्ताङले गत वर्षभन्दा १४ हजार ४११ जना बढी विदेशी आगन्तुक स्वागत गर्दै पर्यटन क्षेत्र पुनः सक्रिय बन्दै गएको संकेत दिएको छ।

१९ मंसिर २०८२