सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रलाई चिनाउन माग


टुरिजम पाना संवाददाता काठमाडौं । २९ श्रावण २०८२

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय अन्तरराष्ट्रियस्तरसम्म चिनाउन आवश्यक रहेको बताएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले सुदूरपश्चिममा पहिचान गरिएका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म चिनाउनुपर्छ भने ।

उनले प्रदेश सरकारले सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका कामलाई उच्च प्राथमिकतामा दिएर अघि बढिरहेको जानकारी दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार भएको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकासम्मको आवागमनलाई सहज बनाउन आवश्यक रहेकामा जोड दिए ।

मुख्यमन्त्री शाहले बडिमालिका दर्शन गर्न गएकामध्ये दुई जनाको दुःखद् निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै यसै वर्षभित्र काम सम्पन्न हुने गरी सो क्षेत्रमा आवागमनलाई सहज बनाउन प्राविधिक टोली खटाएर काम गर्न निर्देशन दिए ।

बडिमालिका क्षेत्रमा भौतिक संरचना निर्माण खटिएको नेपाली सेनालाई धन्यवाद दिँदै उनले बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रबिन्दु र पर्यटकीय हिसाबले भूस्वर्ग रहेको बताए ।

उनले वन क्षेत्रबाट सङ्कलित काठ बिक्री गर्न वन बोलपत्र आह्वान गरी लिलाम गर्नुपर्ने र मन्त्रालयले कार्य बोलपत्रमार्फत गर्नुपर्छ भने ।

२९ श्रावण २०८२