द क्लिफको ‘सेटअप’मा भारतको केरलामा नयाँ बञ्जी सहितको एड्भेञ्चर पार्क सञ्चालनमा 


टुरिजम पाना संवाददाता काठमाडौँ । । ११ माघ २०८०

बाग्लुङ-कुश्मालाई एड्भेञ्चर हबको रुपमा स्थापित गरेको द क्लिफ नेपालको सेटअपमा भारतको केरलामा नयाँ बञ्जी सहितको एड्भेञ्चर पार्क सञ्चालनमा आएको छ ।  यो सँगै क्लिफ अन्तरास्ट्रिय स्तरमा पहिलोपटक बञ्जीको सेटअप तथा व्यवस्थापनमा संलग्न भएको छ ।

क्लिफका अध्यक्ष कार्की, बञ्जी क्रु प्रशिक्षक प्रकाश प्रधान सहितको प्राविधिक टोली सो परियोजनामा संलग्न रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । प्रधान पहिलो नेपाली बञ्जी मास्टर समेत हुन् ।

केरालामा वाया नाडा कम्पनीले निर्माण गरेको बञ्जीजम्प तथा अन्य साहसिक गतिविधि स्काई वाक, स्विङ (पिङ), सुपरम्यान स्विङको सेटअप गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफले उपलब्ध गराउने कार्कीको भनाइ छ ।

‘सो एक्टिभिटीजहरूको सेटअप र अपरेशन हामीले हेर्नेगरी सहमति भएको छ,’ अध्यक्ष कार्कीले भने । बञ्जीको सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीहरू समेत भएकाले क्लिफसँग सहकार्य भएको बताइएको छ ।

भारतीय रुपैयाँ करिब ४० करोड लगानीमा निर्माण भएको बञ्जी सहितको एड्भेञ्चर पार्कमा रहेको बञ्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुने बताइएको छ । ८० मिटर उचाइ रहेको यस बञ्जीको नाम क्रेन बञ्जी राखिएको छ ।

पछि अर्को संरचना तयार गरी बञ्जी सञ्चालनमा आउनेछ। दोस्रो चरणमा सञ्चालनमा आउने बञ्जीको उचाइ १६० मिटरको हुनेछ। सो निर्माणधीन बञ्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बञ्जी हुने अध्यक्ष कार्की बताउँछन् । यससँगै केरलाका अन्य तीन ठाउँमा पनि बञ्जी सञ्चालन गर्ने क्लिफको तयारी छ ।

मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा द क्लिफद्वारा सञ्चालित बञ्जी देखेपछि त्यहाँका व्यवसायीले चासो राखेका थिए। आफ्नो क्षेत्रमा पनि बञ्जी सञ्चालन गर्न सकिने विषयमा त्यहाँका व्यवसायीले चासो राखेपछि क्लिफको टिम केरलामा सम्भाव्यता अध्ययनका लागि गएको थियो।

‘द क्लिफलाई नेपालमा मात्र नभई अन्तराष्ट्रिय रुपमा फैलाउने तयारी गरिरहेका बेला भारतीय लगानीकर्ताले राखेको प्रस्ताव स्वीकारेका हौं,’ अध्यक्ष कार्कीले भने, ‘भारतमा हाम्रो उपस्थिति मुलुककै लागि गर्वको विषय हो ।’

११ माघ २०८०