संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा आगामी सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने गरी तयारी भइरहेको बताएका छन् ।
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले २०२५ देखि २०३५ सम्म पर्यटन दशकका रूपमा मनाउनका लागि कार्ययोजनाको कार्य भइरहेको बताए ।
“हामीले पर्यटन दशक मनाउने भनेर मात्रै हुँदैन, त्यसका लागि मुख्य त आर्थिक तयारी गर्नुपर्ने छ, पर्यटन दशकका लागि राज्यले कति लगानी गर्न सक्छ, विदेशी सहयोग कति हुन्छ, अहिले त्यसबारेमा छलफल भइरहेको छ”, उनले भने । संस्कृति, पर्यटन र हवाई क्षेत्रका समस्यालाई प्राथमिकताको आधारमा समाधान गर्दै आएको उनको भनाइ छ ।