चार सय किलोमिटर पदमार्ग बनाउँदैछौँ : मुख्यमन्त्री कार्की


टुरिजम पाना झापा । ९ माघ २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको पहलमा रु दुई अर्ब ४५ करोडको लगानी साझेदारीमा चार सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण भइरहेको बताएका छन् ।

विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि कोशी प्रदेशको पहाडी जिल्लामा चार वटा पदमार्गको निर्माण चालु आर्थिक वर्षमै सुरू गरिएको बताए ।

पहाडी जिल्लालाई समेटेर मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, चिया पदमार्ग र महागुरू फाल्गुनन्द पदमार्गको निर्माण भइरहेको उनले बताए ।

चार वटा पदमार्ग निर्माणमा दुई अर्ब ४५ करोड लगानी हुने जनाउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि स्वीट्जरल्यान्ड सरकारबाट एक अर्ब ३५ करोड अनुदान प्राप्त हुने जानकारी दिए । ती परियोजनामा नेपाल सरकारले २० करोड, कोशी प्रदेश सरकारले ४५ करोड र २९ वटा पालिकाले ४४ करोड लगानी साझेदारी गर्ने उनको भनाइ छ ।

चालु आवको साउनदेखि काम सुरू भइसकेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले विसं २०८५ को साउन महिनाभित्र चारवटै पदमार्गको निर्माण सम्पन्न हुने लक्ष्य राखिएको बताए ।

इलामको सूर्योदय नगरपालिकामा बन्ने चियाबारी पदमार्ग १९ किलोमिटर लामो हुनेछ । पाँचथरको फिदिमबाट इलामको सन्दकपुरसम्म छवटा पालिका जोड्ने महागुरू फाल्गुनन्द पदमार्ग ६८ किलोमिटरको हुनेछ । तेह्रथुमदेखि खोटाङसम्मका पहाडी जिल्ला जोड्ने लालीगुराँस पदमार्ग एक सय ६० किलोमिटर लामो हुनेछ । उदयपुरदेखि भोजपुर, सङ्खुवासभा र खोटाङ जोड्ने मुन्धुम पदमार्ग एक सय ६८ किलोमिटर लामो हुनेछ ।

कोशी प्रदेशमा कृषि, पर्यटन र व्यापारको ठूलो सम्भावना रहेको हुँदा २०८२ साललाई कोशी पर्यटन वर्षको रूपमा मनाउने प्रदेश सरकारले घोषणा गरिसकेको मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन गर्न लागिरहेको र सम्मेलनमा कृषि, पर्यटनलगायतका क्षेत्रमा थुप्रै परियोजना सञ्चालनका लागि उल्लेख्य लगानी भित्र्याउने तयारी गरिएको बताए ।

इलाम र सूर्योदयमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना हुने र त्यहाँ युरोप, चीन, भारतलगायतका मुुलुकबाट एक सय ५० भन्दा बढी चियाका व्यापारी भित्र्याउने प्रदेश सरकारको कार्यक्रम तय भइसकेको उनले जानकारी दिए ।

विर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरू भएको विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव माघ १९ गते समापन हुने महोत्सव आयोजक समितिका संयोजक विशाल थापाले जानकारी दिए । रासस

९ माघ २०८१