कुटानी–पिसानीका लागि ग्रामीण क्षेत्रमा महत्वपुर्ण मानिने परम्परागत पानीघट्टाहरू पछिल्लो समय भोजपुरमा तीव्र रूपमा घट्दै गएका छन्। संरक्षणको अभाव र आधुनिक प्रविधिको आकर्षणसँगै पानीघट्टाजस्ता परम्परागत उपकरण ओझेलमा पर्न थालेका हुन्।
कुलोमार्फत पानीलाई तल खसालेर पङ्खा घुमाई अन्न पिस्ने पानीघट्टा विगतमा गाउँघरको मुख्य आधार मानिन्थ्यो। मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पानीघट्टामै पिस्ने प्रचलन व्यापक थियो। यसले न त विद्युत् चाहिन्थ्यो, न त डिजेल–पेट्रोल। लागत पनि कम पर्थ्यो, त्यसैले स्थानीयले यो विधिलाई सहज र किफायती विकल्पका रूपमा लिएका थिए।
तर अहिले अवस्था बदलिँदो छ। टेम्केमैयुङ–५ का ७८ वर्षीय बेनीबहादुर विष्ट भन्छन्, “पहिला टोल–टोलका मानिस कुटानी–पिसानीका लागि पानीघट्टा आउँथे, अहिले त चलनै हराउँदैछ।”
यस्तै, वर्षौंदेखि पानीघट्टा सञ्चालन गर्दै आएका हरिबहादुर लम्साल पनि परम्परागत उपकरणको अस्तित्व जोखिममा परेको बताउँछन्। उनी भन्छन्, “विद्युतीय वा डिजेल मिलभन्दा पानीघट्टा सस्तो पर्छ। पिसाइ पनि राम्रो हुन्छ। तर नयाँ पुस्तालाई अब यो काममा चासो घट्दै गएको छ।”
लम्सालका अनुसार पानी पर्याप्त भएको समयमा एक दिनमै छदेखि आठ मुरीसम्म अन्न पिस्न सकिने क्षमता पानीघट्टामा हुन्छ। प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण, स्वाद र ताजापन जस्ताको त्यस्तै रहन्छ भन्ने स्थानीयको विश्वास छ।
यद्यपि आधुनिक मिलहरूको विस्तार, सहज पहुँच तथा समय बचतका कारण गाउँ–गाउँमा पानीघट्टाको संख्या घट्दै गएको छ। गाउँघरका भविष्यमा यी परम्परागत साधनहरू जोगिन सक्ने कि सक्दैनन् भन्ने प्रश्न स्थानीयबीच उठ्न थालेको छ।







