धवलागिरिको काखमा बसेको ‘मुदी’ गाउँ : पर्यटनको नयाँ सम्भावना बन्दै


टुरिजम पाना म्याग्दी । २७ मंसिर २०८२

गुर्जा र धवलागिरि हिमालले वरिपरिबाट घेरेजस्तो देखिने धवलागिरि गाउँपालिका–४ स्थित मुदी गाउँ अहिले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न थालेको छ। ढुंगाका परम्परागत घर, पहाडी बस्तीको साँघुरा तर सुगठित गल्ली, मौलिक मगर संस्कृति र हिमाली दृश्यावलोकन—यी सबैले मुदीलाई आकर्षक पर्यटन गाउँको रूपमा उभ्याइरहेका छन्।

वडाध्यक्ष यामबहादुर घर्तीका अनुसार प्रचार–प्रसारको कमीले वर्षौंदेखि पर्यटनको प्रवाह न्यून भए पनि हाल पूर्वाधार विस्तारसँगै पर्यटक आगमन बढ्दै गएको छ। “विश्वकै सातौँ अग्लो धवलागिरि मुदीकै भूभागमा परेको छ, तर यो सुन्दर गाउँ धेरैलाई थाहा छैन,” घर्तीले बताए, “हामी अब नियमित रूपमा पर्यटन प्रवर्द्धनमा जुटिरहेका छौँ।”

नेपाल पन्छीविद् संघले केही समयअघि गरेको अध्ययनले मुदी र नजिकको दर क्षेत्रमा चिरकालिजको स्थायी वासस्थान रहेको पुष्टि गरेको छ। अध्ययनकर्ता विराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालिज फेला परे, जसले यहाँको जैविक विविधता थप समृद्ध बनाएको छ।

गाउँको भौतिक स्वरूप पनि क्रमशः व्यवस्थित हुँदै गएको छ। ढल व्यवस्थापन, ढुंगाले छोपिएको साइनो गल्ली र वडा कार्यालय नजिकै निर्माण गरिएको भ्यु–प्वाइन्ट पर्यटकका लागि मुख्य आकर्षण बनेका छन्। भ्यु–प्वाइन्टदेखि थोरै पैदलयात्रापछि पुगिने थलडाँडाबाट हिमशृङ्खला, गुर्जा–दरखोला र नागबेलीझैँ बग्ने म्याग्दी नदीको दृश्य मनमोहक देखिन्छ।

करीब २,५०० मिटर उचाइमा अवस्थित मुदीमा करिब २५० घर छन्, जसमा बहुल्य मगर समुदायको बसोबास छ। यहाँका पुर्ख्यौली, मादले, मारुनी नाच, सालैजो र यानीमायामा पाहुनालाई स्वागत गर्ने परम्परा आज पनि जिवन्त छ।

मुदी ट्रेकिङ मार्गको महत्वपूर्ण प्रवेशद्वारसमेत हो। यहाँबाट धवलागिरि चक्रीय पदमार्ग र गुर्जा हिमाल पदयात्रा सुरु गर्न सकिन्छ। स्थानीयका अनुसार वैशाख–जेठमा यार्सागुम्बा र असोज–कात्तिकमा च्याउ संकलन गर्ने चलन, घुम्ती गोठमा फिरन्ते गोठालाको जीवनशैली स्वयं अध्ययनयोग्य छ।

बेनीबाट करिब ४७ किलोमिटर दूरीमा रहेको मुदी जिप र मोटरसाइकलमार्फत २–३ घण्टामा पुगिन्छ। यातायात पहुँचसँगै गाउँको फेदी हुँदै निर्माणाधीन जलविद्युत् आयोजनाले यहाँको पर्यटन चहलपहलमा सहायक भूमिका खेलेको हो।

गाउँमा घरबास सेवा सञ्चालनमा रहेको छ। होमस्टे सञ्चालक गौबहादुर राम्जालीका अनुसार पर्यटकलाई स्थानीय उत्पादनबाट बनेको पारम्परिक भोजन—लोकल कुखुरा, खसीबोका, च्याउ, टुसा, सिमीको दालदेखि कोदो–फापरको ढिँडोसम्म—पस्कने गरेकाले उनीहरूको अनुभव सधैं सकारात्मक रहने गरेको छ। उनको होमस्टेमा एकैदिन २०–३० जनासम्म आरामपूर्वक बस्न सकिन्छ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका भनाइमा मुदी–मुना क्षेत्र रेडपाण्डा, चिरकालिज लगायत दुर्लभ वन्यजन्तुको बासस्थान भएकाले पर्यावरणीय पर्यटनका दृष्टिले पनि अत्यन्त सम्भावनाशील छ। उनले धवलागिरि आरोहण दिवसलगायत प्रमुख पर्यटन कार्यक्रम मुदीमै मनाउन नेपाल पर्यटन बोर्ड र सहयोगी संस्थाहरूसँग आग्रह गरिएको बताए।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र नयाँ पूर्वाधार—यी तीन कुराले मुदी गाउँलाई अब पर्यटक पर्खनुभन्दा स्वागत गर्न तयार गन्तव्य बनाइरहेको छ।

२७ मंसिर २०८२