मित्रराष्ट्र चीनमा हुन लागेको वाइल्डवाटर क्यानोइङ इन्टरनेशनल ओपन प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।
डिसेम्बर २६ देखि जनवरी १ सम्म चीनको नु जियाङमा हुने वाइल्डवाटर क्यानोइङ इन्टरनेशनल ओपनमा सहभागिता जनाउने नेपाली टोलीको सोमबार काठमाडौंमा बिदाइ गरिएको हो ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली टोलीका प्रशिक्षक दोर्दी गाउँपालिका अध्यक्ष समेत रहनुभएका युवराज अधिकारी, टीम लिडर सूर्य प्रसाद, खेलाडी विक्रम गुरुङ र गणेश गुरुङलाई बिदाइ गर्नुभएको हो ।
बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस), नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघ (एनआरसीए) का अध्यक्ष राजीव श्रेष्ठ, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महेश थापा र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको उपस्थिति थियो ।