११ महिनामा १० लाख ६० हजार पर्यटक नेपाल प्रवेश, भारतीय पर्यटक अग्रस्थानमा


टुरिजम पाना काठमाडौँ । १८ मंसिर २०८२

११ महिनाको अवधिमा कुल १० लाख ६० हजार २६९ पर्यटक नेपाल आएका छन् । सन् २०२५ मा पर्यटक आगमन ०.४ प्रतिशतले मात्र बढेको हो ।

२०२४ को जनवरीदेखि नोभेम्बरसम्म २ लाख २५ हजार ९०९ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२५ को ११ महिनाको अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको छ ।

भारतीय र चिनियाँ पर्यटकको आगमन घट्दा सार्क मुलुकबाट हुने आगमनमा ३.९ प्रतिशतको गिरावट आएको छ । ११ महिनामा सार्क क्षेत्रबाट ३ लाख ६८ हजार ३८१ पर्यटक नेपाल आएका छन् । गत वर्ष सन् २०२४ को यसै अवधिमा ३ लाख ८३ हजार ४६६ पर्यटक यस क्षेत्रबाट आएका थिए ।

 

सन् २०२५ को पहिलो ११ महिनामा विदेशी पर्यटक आगमनमा सामान्य वृद्धि भए पनि प्रमुख दुई छिमेकी मुलुकबाट भारत र चीनबाट आउने पर्यटक घटेका छन् । भारत र चीन दुवै नेपालका ठूला पर्यटक बजार हुन् । तर, विगतका केही महिनाहरुमा यी दुवै देशहरुबाट पर्यटक आगमन घटेको छ ।

‘भारत र चीनमा अहिले पनि नेपालमा जुनसुकै बेला जुनसुकै समूहले अनिश्चितकालिन आन्दोलन हुन्छ भन्ने भय छ त्यसैले त्यसका पर्यटकलाई तान्न सकिएको छैन’ वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले भने ।

११ महिनामा २ लाख ६२ हजार ३४५ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष भारतीय पर्यटकको संख्या ११ महिनामा २ लाख ९३ हजार २३२ रहेको थियो ।

चीनबाट ११ महिनामा ८६ हजार ८०० पर्यटक नेपाल आएका छन् । गत वर्ष चीनबाट ९२ हजार ८४३ जना पर्यटक नेपाल आएका थिए । यो वर्ष आएका पर्यटक गत आवको तुलनामा ६.५ प्रतिशतले कम हो ।

पर्यटन व्यवसायीहरूका अनुसार सेप्टेम्बरको सुरुतिर भएको ‘जेनजी आन्दोलन’का क्रममा भएका हिंसात्मक गतिविधि र त्यसपछि फैलिएको सुरक्षासम्बन्धी त्रासले विदेशी पर्यटकले नेपाल भ्रमण स्थगित वा रद्द गर्न थालेका थिए । जसका कारण पर्यटकको संख्यामा कमी आएको हो ।

जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा भएको आगजनी र तोडफोडका कारण पनि पर्यटकको संख्यामा कमी आएको उनी बताउँछन् ।

हायात र हिल्टनजस्ता ठूला होटलमा भएको आगजनीले विदेशी पर्यटकमा त्रास सिर्जना गरेको र त्यसले भ्रमणमा असर पारेको उनको भनाइ छ ।

भारतीय पर्यटक घट्नुमा जेनजी आन्दोलन मात्र नभई चर्को हवाईभाडा र सडक दुर्घटनालगायत कारण पनि रहेको उनले बताए ।

यता, सो अवधिमा अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या भने बढेको छ । अन्य एसियाली मुलुकहरुबाट ११ महिनामा २ लाख २५ हजार ९०९ पर्यटक भित्रिएका छन् । जुन सन् २०२४ को तुलनामा ०.२ प्रतिशत बढी हो । २०२४ मा एसियाली मुलुकहरुबाट २०२४ मा २ लाख २५ हजार ५४० जना भित्रिएका थिए ।

एसियाली मुलुकहरु मध्ये अष्ट्रेलिया र न्यूजिल्याण्डबाट ४८ हजार ४३० जना पर्यटक आएका छन् । अष्ट्रेलियाबाट ४४ हजार ३७७ जना पर्यटक आएका छन् भने न्यूजिल्याण्डबाट ४ हजार ५३ जना पर्यटक आएका छन् ।

जुन अघिल्लो वर्षका तुलनामा १२.६ प्रतिशतले बढी हो । अमेरिकी पर्यटक १ लाख २७ हजार १३७ आएका छन् । जुन १.१ प्रतिशतको सुधार हो ।

मध्यपूर्वी क्षेत्रबाट १९ हजार ५७५ पर्यटक आएका छन् । यो २३.८ प्रतिशतको सुधार हो । अफ्रिकाबाट ३ हजार ८९१ जना पर्यटक नेपाल आएका छन् । यो ४.९ प्रतिशतको गिरावट हो । अन्य क्षेत्रबाट ५७ हजार ७८३ पर्यटक आएको बोर्डले जनाएको छ । जुन ४.४ प्रतिशतको सुधार हो ।

यता, जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको पर्यटन क्षेत्रलाई लयमा ल्याउन नेपाल पर्यटन बोर्डले ‘नाउ इन नेपाल’ नामक प्रचार अभियान सुरु गरेको छ।

सबैभन्दा बढी पर्यटक भारतिय पर्यटक

११ महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । ११ महिनामा २ लाख ६२ हजार ३४५ जना भारतिय पर्यटक नेपाल आएका हुन् ।

भारतपछि अमेरिका दोस्रो स्थानमा छ । अमेरिकाबाट १ लाख ५ हजार २३९ पर्यटक नेपाल आएका छन् । यस्तै, चीनबाट ८६ हजार ८ सय पर्यटक, बंगलादेशबाट ५० हजार ९४० पर्यटक नेपाल आएका छन् ।

अष्ट्रेलियाबाट ४४ हजार ३७७, श्रीलंकाबाट ३६ हजार ९६८, जर्मनीबाट २८ हजार ९७५, थाइल्याण्डबाट २५ हजार ८२४ र फ्रान्सबाट २३ हजार ५०२ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

 

१८ मंसिर २०८२