रानीमहल अवलोकनबाट ३० लाख राजस्व सङ्कलन


टुरिजम पाना तानसेन । २१ फाल्गुन २०७९

नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम सङ्कलन गरेको हो ।

पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्गत रहेको छ । विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले रानीमहलको सरसफाइ, सजावट र व्यवस्थापन गर्दै आएको छ । रानीमहल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको हो ।

नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीका अनुसार साउनदेखि माघसम्ममा ५० हजार बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन् । दैनिक दुई सय बढी पर्यटक भित्रिने गरेका छन् । गत वर्ष रु सात लाख टिकट बिक्रीबाट आम्दानी गरेको नगरपालिकाले यस वर्ष सात महिनामै तेब्बर लक्ष्य पूरा गरेको छ ।

नगरपालिकाको शिरले चिनिने अर्को महत्वपूर्ण पर्यटकीयस्थल श्रीनगर हो । यो वनभोजस्थल पनि हो । पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, कपिलवस्तुबाट यहाँ वनभोज मनाउन आउनेको घुइँचो लाग्ने गर्दछ । चालु आवको सात महिनामा ७० हजार बढी पर्यटकले श्रीनगरको अवलोकन गरेका छन् । शान्त, मनोरम र स्वच्छ हावापानीको आनन्द लिन पर्यटक यहाँ आउने गर्दछन् ।

श्रीनगर अवलोकनबाट नगरपालिकाले रु १५ लाख राजस्व सङ्कलन गरेको छ । यहाँ नगरपालिकाले खानेपानी, विद्युत् तथा सरसफाइको व्यवस्थापन गरेको छ । श्रीनगरको नगरपालिकाले व्यवस्थापन र प्रचारप्रसारले पर्यटकको सङ्ख्या बढेको नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले बताउनुभयो । चालु आवदेखि नगरपालिका आँफैले श्रीनगर व्यवस्थापन गर्न थालेपछि राजस्व वृद्धि भएको हो ।

नगरपालिकाले रानीमहल दरबार अवलोकनका लागि रु ५० तोकेको छ । सार्क देशका लागि रु ८० र अन्य मुलुकका नागरिकले रु एक सय ५० तिरेर दरबारको अवलोकन गर्ने गरेका छन् । त्यस्तै श्रीनगर अवलोकनका लागि रु २० लिने गरिएको छ ।

नगरपालिकाभित्र रानीमहल र श्रीनगरका साथै भगवती मन्दिर, अमरनारायण मन्दिर, सित्तलपार्टी, मूल ढोका, पाल्पा दरबार, ऋषिकेश मन्दिरलगायतका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल पर्दछन् । (रासस)

२१ फाल्गुन २०७९