प्याराग्लाइडिङ सञ्चालन गर्न प्राधिकरणका ५ शर्त

हवाइ खेलकुद संस्थाले भोलि निर्णय गर्ने


टुरिजम पाना काठमाडाैं । ४ कार्तिक २०७९
national sports competition Nepal, paragliding
फाइल फोटो

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ सञ्चालन गर्न ५ शर्त राखेको छ । प्यारापाइलट खेलाडीको मृत्युपछि सुरक्षाको कारण देखाउँदै देशभर प्याराग्लाइडिङ उडानमा राेक लगाएकाे क्यानले शुक्रबार यी शर्त राखेकाे नेपाल हवाइ खेलकुद संस्थाले जानकारी दिएकाे छ ।

बुधबार प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा गठन गरेकाे छानबिन समितिकाे अध्ययनलाई आधार बनाएर क्यानले प्याराग्लाइडिङ सञ्चालन गर्न सुरक्षासम्बन्धी ५ शर्त अघि सारेको हो ।

जसमा व्यवसायिक उडान गर्ने क्षेत्रमा सोलो उडान गर्न नपाउने र प्रतियोगिताका लागि छुट्टै स्थान तोक्नुपर्ने, १५ दिनभित्र सबै पाइलटहरुको मेडिकल जाँच गर्नुपर्ने, पाइलटहरुको एउटै ड्रेस कोड हुनुपर्ने भनिएको छ । साथै प्रत्येक वर्ष पाइलटलाई एसआइभी कोर्स गराउनुपर्ने, १५ दिनभित्र सबै ग्लाइडको कन्डिसन जाँच गर्नुपर्ने शर्त राखेकाे नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिए ।

भट्टराईले क्यानले राखेका शर्तमा शनिबार बैठक बसेर छलफल गरेपछि मात्रै कहिलेदेखि प्याराग्लाइडिङ सुरु गर्ने भन्ने निर्णय हुने बताए ।

पोखरामा जारी ९ औँ राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ खेलमा प्यारापाइलट २६ वर्षीय निसिम थापाको मृत्यु भएपछि प्राधिकरणले देशैभर प्याराग्लाइडिङ बन्द गरेको हो ।

इयु र आइकाओका प्रतिनिधिलाई रिझाउन क्यानले गर्‍यो प्याराग्लाइडिङ बन्द !

४ कार्तिक २०७९