इयु र आइकाओका प्रतिनिधिलाई रिझाउन क्यानले गर्‍यो प्याराग्लाइडिङ बन्द !

सिजनको बेला प्याराग्लाइडिङ बन्द गर्दा व्यवसायी मर्कामा


सोनी शाही काठमाडौं । ३ कार्तिक २०७९
pokhara paragliding
फाइल तस्वीर

युरोपियन युनियन (इयु) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का प्रतिनिधिलाई रिझाउन नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङ बन्द गरेको सरोकारवालाहरूले आरोप लगाएका छन् ।
पर्यटकीय नगरी पोखरामा जारी ९ औँ राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ खेलमा एक सहभागी प्यारापाइलटको मृत्यु भएपछि प्राधिकरणले त्यसलाई कारण बनाएर इयु र आइकाओका प्रतिनिधिलाई रिझाउन देशैभर प्याराग्लाइडिङ बन्द गरेको एक व्यवसायीले आरोप लगाए ।
सुरक्षाको मापदण्ड पूरा नभएका कारण युरोपियन युनियन (इयु) ले नेपालमा प्याराग्लाइडिङलाई कालोसूचीमा राख्ने विषयमा क्यानमा छलफल भएको समेत बुझिएको छ ।
प्यारापाइलटको मृत्यु भएपछि क्यानले देशभरीका प्याराग्लाइडिङमा प्रतिबन्ध लगाएसँगै व्यवसायी र पर्यटकहरू समेत मर्कामा परेका छन् ।
क्यानले गत आइतबार नेपाल त्रिभुवन आर्मी क्लबका पोखरा महानगरपालिका– १० का २६ वर्षीय निसिम थापाको मृत्यु भएपछि देशभरका प्याराग्लाइडिङ बन्द गर्न निर्देशन दिएको थियो ।
कुनै एक ठाउँमा भएको दुर्घटनाका कारण देशभरीका प्याराग्लाइडिङमा प्रतिबन्ध लगाउनु अन्यायपूर्ण भएको भन्दै प्याराग्लाइडिङ व्यवसायीहरूले उक्त निर्णयको आलोचना गर्दै आएका छन् ।
लामो समयको कोरोना कहरपछि प्याराग्लाइडिङ क्षेत्रले गति लिएको समयमा यसरी बन्द गरिनु व्यवसायमाथीको प्रहार भएको व्यवसायीहरू बताउँछन् ।
उडान सुरक्षाबारे सुक्ष्म अध्ययनका लागि तत्काल देशभरका प्याराग्लाइडिङमा प्रतिबन्ध लगाउने निर्णय गरेको भएपनि स्पष्ट कारण नखुलाइएको व्यवसायीहरूको गुनासो छ ।
कुनै कारण नखुलाई यसरी प्याराग्लाइडिङ बन्द गराइँदा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसकेकोले त्यहाँबाट प्याराग्लाइडिङ हटाउने नियत देखिएको भन्दै व्यावसायीहरूले गुनासो गरेका छन् ।
विमानस्थल सञ्चालनमा ल्याउनका लागि प्याराग्लाइडिङ हटाउनुपर्ने विषय यसअघि पनि चर्चा चल्दै आएको थियो ।
पोखराबाट प्याराग्लाइडिङ अन्यत्र सार्नकै लागि यसरी देशभर नै बन्द गरिएको हुन सक्ने एक व्यवसायीले बताए ।
चाडपर्वको समयमा प्याराग्लाइडिङ बन्द गरिँदा व्यवसायीहरू थप मर्कामा परेको गुनासो गर्दछन् ।

देशैभरी प्याराग्लाइडिङ बन्द गर्नु पक्कै पनि राम्रो होइन
शैलेन्द्र राउत, महासचिव, नेपाल प्याराग्लाइडिङ महासंघ

कुनै एक ठाउँमा भएको दुर्घटनाका कारण देशैभरी प्याराग्लाइडिङ बन्द गर्नु पक्कै पनि राम्रो होइन । हामीले नागरिक उड्डयन प्राधिकरणसँग दुई चरणको छलफल गरिसकेका छौँ ।
प्राधिकरणका अनुसार सुरक्षाको मापदण्ड पूरा नभएका कारण युरोपियन युनियन (इयु) ले नेपालमा प्याराग्लाइडिङलाई कालोसूचीमा (ब्ल्याक लिस्ट) राख्ने भन्ने कुरा भइरहेको छ ।
केही दिन अनुसन्धानका लागि बन्द गर्न प्राधिकरणले पनि व्यवसायीहरूसँग आग्रह गरेको छ ।
केही दिन बन्द गरेर पुनः राम्रो हुन्छ भनेकै भएर हामी व्यापारीले पनि यसमा समर्थन गरेका छौँ ।
युरोपियन युनियन (इयु) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का प्रतिनिधिले यस विषयमा अनुसन्धान गरिरहेका छन् । अनुसन्धानपछि के निष्कर्ष आउँछ भन्ने पर्खाइमा व्यवसायीहरू छन् ।

एक दुर्घटनाका देशभर बन्द गर्नु उचित निर्णय होइन
सानुबाबु सुनुवार, सञ्चालक, द बाबु एड्भेन्चर्स
यसअघि कोरोना, भूकम्प लगायतको समयमा विविध कारणले नेपालको ‘टुरिजम’ क्षेत्रमा असर पर्दै आएको थियो । त्यसमा पनि साहसिक खेलहरू प्रति विस्तारै पर्यटकहरू बढ्न थालेको समयमा नागरिक उड्डयन प्राधिकरणले फेरि देशभर प्याराग्लाइडिङमा प्रतिबन्ध लगाएको छ ।
एक जना प्यारापाइलटको दुर्घटनाका कारण मृत्यु भएकै कारण प्राधिकरणले देशभरका प्याराग्लाइडिङ बन्द गर्नु उचित निर्णय होइन ।
देशभर नै प्याराग्लाइडिङ बन्द गर्नुको उद्देश्य के हो ? कारण के–के हुन् ? भन्ने विषय पनि स्पष्ट छैन । प्राधिकरणले जुन ठाउँमा घटना भयो, त्यो ठाउँमा अध्ययन अनुसन्धानका लागि केही समय प्याराग्लाइडिङ बन्द गर्नु स्वभाविक हुन्थ्यो । तर सोही घटनाको निहुँमा देशभरी नै प्याराग्लाइडिङ बन्द गर्नु कुनै पनि हिसाबले उचित होइन ।
अहिलेको अवस्थामा मुग्लिन खण्डमा कुनै एउटा दुर्घटना हुँदा नेपालभरकै बाटो बन्द गर्ने भने जस्तो भएको छ ।

व्यवस्थित गर्न हामी तयार छौं
नारायण पराजुली, सञ्चालक, ब्लु स्काइ प्याराग्लाइडिङ

प्याराग्लाइडिङको क्रममा दुर्घटना भई मृत्यु हुनु भनेको एउटा दुखद् घटना हो । त्यसमाथि राष्ट्रिय खेल चलिरहेको बेला सहभागी कै मृत्यु हुनुले सम्पूर्ण साहसिक खेल क्षेत्रमै असर परेको छ ।
तर दुर्घटना भएकै कारण नेपालभरीकै प्याराग्लाइडिङमा प्रतिबन्ध लगाउनु उचित देखिन्न । प्राधिकरणले अनुसन्धानका लागि पोखराको प्याराग्लाइडिङलाई केही समय रोक्न सक्थ्यो, तर देशभरीका सबै प्यााग्लाइडिङ क्रियाकलाप बन्द गर्नुलाई हामीले अस्वभाविक मानेका छौँ ।
वर्षायामका कारण अब हाम्रो व्यवसायमा केही राहत हुने आशा थियो तर, प्राधिकरणले एकाएक प्याराग्लाइडिङ बन्द गर्दा हामीलाई आर्थिक हिसाबले त असर परेकै छ । साथै यो क्षेत्रमा लगानी गर्ने लगानीकर्ता र पाइलटहरूलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष असर गरिरहेको छ ।
हामी व्यवसायीहरू मिलेर प्राधिकरणसँग प्याराग्लाइडिङ पुनः सञ्चालनमा ल्याउन आग्रह गर्ने योजनामा छौँ । यसलाई व्यवस्थित गर्नका लागि हाम्रो तर्फबाट गर्नुपर्ने सबै कार्यहरू गर्न हामी तयार छौँ ।

लामो समय बन्द गर्नु उचित भएन
विजय चौलागाईं, प्याराग्लाइडिङ पाइलट, शंखरापुर प्याराग्लाइडिङ

एउटा दुर्घटनाका कारण देशभरीको प्याराग्लाइडिङ बन्द गर्नु पक्कै पनि राम्रो होइन । अनुसन्धान भइरहेको छ भन्ने कुरा सुन्नमा आएको छ । व्यक्तिगत हिसाबले दुर्घटनाका कारण मृत्यु भएपछि श्रद्धाञ्जली स्वरुप एक दिनलाई प्याराग्लाइडिङ बन्द गर्नु स्वभाविक भएपनि लामो समय बन्द गर्नु उचित निर्णय भएन ।
प्याराग्लाइडिङ सञ्चालन गर्ने विषयमा कुनै आधिकारिक जानकारी आएको छैन । हामी राष्ट्रिय खेलमा सहभागी हुन आएका सबै अलमलमा परिरहेका छौँ । किनभने यसरी नै देशभरी प्याराग्लाइडिङ बन्द भइरहेमा हामीले पनि आफ्नो दक्षता देखाउन पाउँदैनौँ ।

सुरक्षाको मापदण्ड पूरा गराउन बन्द गराएका हौं
जगन्नाथ निरौला, प्रवक्ता, नागरिक उड्डयन प्राधिकरण

प्याराग्लाइडिङ गर्दा वर्षेनी दुर्घटनाहरू हुन थालेको छ । यसको सुरक्षा र व्यवस्थापनका लागि हामीले देशभरी प्याराग्लाइडिङ बन्द गराएका हौँ । अहिले प्याराग्लाइडिङमा असुरक्षित प्रतिस्पर्धा पनि बढेको देखिएको छ ।
यसको अनुसन्धान गरि सबै व्यवसायीहरूलाई सुरक्षाको मापदण्ड पूरा गर्न लगाउन प्याराग्लाइडिङ केही समय बन्द गराउने सबै गृहकार्य पूरा भइसकेको थियो । केही दिन अगाडि भएको दुर्घटना संयोग मात्र हुन गएको हो ।
सो दुर्घटना नघटेको भए पनि हामी देशभरी प्याराग्लाइडिङ बन्द गराउने योजनामा नै थियौँ । प्याराग्लाइडिङ क्षेत्रको मुख्य समस्या र यसको व्यवस्थापनका लागि उचित निर्णय नहुन्जेल प्याराग्लाइडिङ सञ्चालनमा आउँदैन ।

३ कार्तिक २०७९