न्यूजिल्याण्ड पुग्ने पहिलो नेपाली थिए सत्यमोहन


सुनिल उलक पाेखरा । ३० आश्विन २०७९

न्यूजिल्याण्ड पुग्ने पहिलो नेपाली सत्यमोहन जोशी थिए । हिलारीले सगरमाथा चढेको तीन दिन पछि २०१० सालको जेठ १९ मा सत्यमोहन जोशी न्यूजिल्याण्ड लागि उडेका थिए । त्यहाँ सत्यमोहनको स्वागत गर्दा सगरमाथाको देशबाट भनेर चिनाइएको थियो । एडमण्ड हिलारीसंगै सगरमाथाको टुप्पा पुग्ने तेन्जिङका गाउँले भनेर चिनाइएको थियो ।

त्यो बेला न्यूजिल्याण्ड जानु त्यति सहज थिएन । काठमाडौ गौचर अड्डाबाट पटना, पटनाबाट मुजफ्फरपुर, मुजफ्फरपुरबाट कलकत्ता, कलकत्ताबाट सिंगापुर, सिंगापुरबाट इन्डोनेशियाको जकार्ता र जकार्ताबाट अष्ट्रेलियाको डार्विन पुग्नुपर्थ्यो । डार्विनबाट फेरी सिडनी र सिडनीबाट बल्ल न्यूजिल्याण्डको वेलिङटन पुग्नुपर्थ्यो । हुन त अचेल पनि ४० घण्टा जति त लाग्ने वेलिङ्टन त्यसबेला ५ दिन लागेको थियो । सोमबार दिउँसो ३ बजे काठमाडौं छोडेको शुक्रबारको दिउँसो मात्र वेलिङटन पुगेका थिए ।

काठमाडौमा जेठको गर्मीमा साधारण नेपाली पोशाक र भादगाउँले टोपीमा ठाट्टिएर हिडेका सत्यमोहन वेलिङटनमा विमानबाट झर्दा त्यहाँको चिसोले लगलगी काँपेका थिए । सत्यमोहनको त्यहा भव्य स्वागत भएको थियोे । जताजतै एभरेष्टको देशको मानिस भनेर सम्मान गर्दा आफ्नो देशको उच्च शिखर सगरमाथा प्रति गर्वित भएका थिए ।

न्यूजिल्याण्डमा तीन महिनाको तालिम अवधिमा वहाँका सहयोगी हुनुहुन्थ्यो, जी. ई. वुड । जर्ज एर्नेष्ट फ्रान्सिस वुड, न्यूजिलैण्डका प्रमुख तथ्यांकविद हुनुहुन्थ्यो । साथै लामो अवधी न्यूजिलैण्ड सरकारको तथ्यांकविदको रुपमा कार्यरत रहनु भएको थियो ।

न्यूजिल्याण्ड उत्तर दक्षिण फैलिएको दुई टापुबाट बनेको देश हो । वेलिङटन अर्थात उत्तरी टापुमा तालिमका लागि बसिरहेका सत्यमोहनलाई एकदिन दक्षिण टापुमा बसिरहेका एक गोराले नेपालीपारामा निम्तो पठायो । क्राइस्टचर्च (दक्षिण टापुको एक शहरी)मा बसेका यी ब्रेटले जुद्धशम्शेरको शासनकालमा दोश्रो विश्वयुद्ध ताका स्वयम्भू वारुदखानामा काम गरेका इन्जिनियर रहेछन् । नेपालको याद गर्दै आफ्नो घरको सजावत नै नेपाली बनाएर बसेका उनले समाचारमा एक नेपाली युवक न्यूजिलैण्ड पुगेको थाहा पाए पछि कौटुहल जाग्नु अस्वभाविक थिएन ।

सत्यमोहन जोशी पनि उनको आतिथ्यता स्विकार गर्दै रातभरको पानीजहाजको यात्रा तय गरेर उनको घर पुगे । नेपाली राडीपाखी र खुकुरी सजाएको देखे पछि उनलाई नेपाली खानपानको पनि केही जानकारी दिए । न्यूजिल्याण्ड पुगे देखि नेपाली खानाक‍ो स्वाद चाख्न नपाएका सत्यमोहनलाई नेपालकै घर पुगे जस्तो भयो । गुन्द्रुक बोकेर वेलिङटन पुगेको भए पनि पकाएर खान पाएका थिएनन् । बेला बेलामा यतैबाट बोकेर गएको च्युरा चपाउनु बाहेक अरु नेपाली खानेकुरा चाख्न पाएका थिएनन् । ब्रेटलेको श्रीमतीलाई गुन्द्रुक पकाउन सिकाउने बहानामा क्राइस्टचर्चमा पुगेर नेपाली स्वादको गुन्द्रुक र भात खान पाए ।

तीन महिनाका लागि गएको भए पनि तालिमको क्रममा झण्डै चार महिना उतै रहे । न्यूजिल्याण्डको बिदाइको समय भए पछि न्यूजिल्याण्ड सरकारको तथ्यांक विभागले बिदाइ कार्यक्रमको आयोजना तथ्यांक विभागकै हलमा असोज १२ को राती गरेको थियो । सो पार्टीमा जर्ज वुड पनि सपरिवार आएका थिए । पार्टी निकै रमाइलो थियो । साथमा नाचगान पनि भयो । यस्तैमा कुर्सीमा थपक्क बसेर रमाइलो मानिरहेका सत्यमोहन सामु जर्ज वुडकी भर्खरकी छोरीले ‘May I request you to dance’ भन्दै हात समाउन आए । कर गरिसके पछि अस्विकार गर्नु भएन भन्दै मिस वुडको हत्केला समाएर सत्यमोहन पनि नाच्न थालिहाले ।

श्रीमती एलिन र यिनै छोरीलाई छोडेर २०३५ को पौषमा जर्ज वुडको ७८ वर्षको उमेरमा देहान्त भएको थियो ।

(सत्यमोहन जोशीको पुस्तक र वहाँसंँग भएको कुराकानीमा आधारित ।)

३० आश्विन २०७९