पर्यटन विकासका लागि हवाई सेवालाई सबल बनाउन आवश्यक छः प्रधानमन्त्री


टुरिजम पाना काठमाडौँ । ६ चैत्र २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले मुलुकको हवाई सेवालाई चुस्त र प्रभावकारी बनाउन सरकारले आवश्यक काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा हवाई यातायातको विकासका लागि सरकारी क्षेत्रबाट सञ्चालित नेपाल वायुसेवा निगमको व्यवस्थापनमा कुशलता बढाउन आवश्यक व्यावसायिक कार्ययोजना निर्माण गरी सुधारका काम अघि बढाइएको बताए । उनले पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको पुनःसंरचना गरी विदेशस्थित नेपाली दूतावास, नियोग, पर्यटनदूत, गैरआवासीय नेपाली सङ्घ, विदेशमा बस्ने नेपाली विद्यार्थी, नेपाल र विदेशका विभिन्न सङ्घसंस्थालाई परिचालन गरिएको जानकारी दिए ।

“मित्रराष्ट्रहरूबाट भित्रिने पर्यटकको सङ्ख्या वृद्धि गर्न नेपाल पर्यटन बोर्डलगायत अन्य क्षेत्रबाट प्रवद्र्धनात्मक काम भइरहेका छन् । पर्यटनसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्को यसै अधिवेशनमा पेस गर्नेगरी तयारी गरिरहेको छ । पर्वतारोहण नियमावली संशोधन भइसकेको छ”, प्रधानमन्त्री ओलीले भने ।

६ चैत्र २०८१