स्तरीय बस सेवा तथा हवाई सेवामार्फत पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने विश्वासका साथ होटेल सङ्घ पोखराद्वारा आयोजित ‘जाउँ है पोखरा अभियान’ सम्पन्न भएको छ ।
सङ्घको आयोजनामा गत जेठ २९ गतेदेखि यही असार २ गतेसम्म पश्चिम नेपालका विभिन्न ठाउँमा जाउँ है पोखरा अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा विभिन्न सहरमा सञ्चालित कार्यक्रममा व्यवसायीबीच आपसी सहकार्य गर्दै स्तरीय बस सेवा सञ्चालन गर्न सकिने र हवाई सेवा कम्पनी तथा स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य सहर र पोखरा जोड्ने गरी हवाई सेवा सञ्चालन गरिनुपनेमा जोड दिइएको थियो ।
सङ्घले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तरगत यसपटक पाल्पा, बुटवल, नेपालगञ्ज, सुर्खेत र दाङ (घोराही) मा अन्तरक्रिया तथा पत्रकार सम्मेलन आयोजना गरिएको सङ्घका अध्यक्ष एवम् अभियानका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटनका लागि पहुँच पहिलो आवश्यकता भएको उल्लेख गर्दै उहाँले स्तरीय बस सेवा र हवाई सेवामार्फत् सातै प्रदेश जोड्ने सङ्घको उद्देश्य रहेको बताए ।