नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल


टुरिजम पाना काठमाडौँ । २६ कार्तिक २०८२

नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित एक अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश ठहर गरेको हो ।

प्रकृतिसँग देशका जनताको संवेगात्मक तथा मनोवैज्ञानिक सम्बन्धका विषयमा विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको अध्ययनले नेपालीहरूमा सर्वाधिक प्रकृति प्रेम रहेको देखाएको छ ।

उक्त सर्भेक्षणमा मानिसको प्रकृतिप्रतिको व्यवहार तथा दृष्टिकोणलाई कसरी सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक पक्षहरूले प्रभाव पार्दछन् भन्ने कुराको समीक्षा गरिएको थियो ।

त्यस क्रममा १.३९ अंक सहित नेपाल पहिलो स्थानमा पर्न सफल भएको छ। उक्त सूचीमा १.२२ अंक सहित इरान दोस्रो स्थानमा छ भने तेस्रो स्थानको दक्षिण अफ्रिकाले १.२० अंक पाएको छ ।

सर्वाधिक प्रकृतिमैत्री जनता भएका अन्य टपटेन मुलुकहरूमा क्रमशः बंगलादेश, नाइजेरिया, चिली, क्रोएसिया, घाना, बुल्गेरिया र ट्युनिसिया रहेका छन् ।

यसरी प्रकृतिसँग सर्वाधिक जोडिएका शीर्ष १० देशको सूचीमा केवल दुई वटा मात्रै युरोपेली देश मात्र पर्न सफल भएका छन् । यो सूचीमा अर्को युरोपेली मुलुक फ्रान्स १९औँ स्थानमा रहेको छ ।

प्रकृतिसँग सर्वाधिक जोडिएका देशहरूको शीर्ष सूचीमा अधिकांश एसिया तथा अफ्रिकाका देश रहँदा स्पेन भने यो सूचीको सबैभन्दा पुछारमा रहेको छ । उसको माइनस ०.६१ अंक छ । त्यसैगरी जापान अन्तिमबाट दोस्रो स्थानमा छ ।

प्रकृतिसँग सबैभन्दा कम जोडिएका पुछारका १० देशमा रुस, आयरल्याण्ड, साउदी अरब, बेलायत, नेदरल्याण्ड, क्यानडा, जर्मनी, इजरायल, जापान र स्पेन रहेका छन् ।

२६ कार्तिक २०८२