इटहरी उपमहानगरपालिका–२ र ३ को सीमानामा रहेको तालतलैया पछिल्लो समय पूर्वाञ्चलको प्रमुख मनोरञ्जन गन्तव्यका रूपमा द्रुत गतिमा लोकप्रिय बन्दै गएको छ। करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको यो क्षेत्र विशेषगरी वनभोज तथा पारिवारिक घुमघामका लागि अत्यन्त रमणीय मानिन्छ।
व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर रायमाझीका अनुसार मुख्य सिजनमा दैनिक १२–१५ हजार पर्यटक यहाँ आउने गरेका छन्। दिनहुँ करिब ५०० भन्दा बढी मानिस सामान्य घुमघामका लागि आउने बताएका उनले वनभोजका लागि ७० भन्दा बढी समूहलाई एकैचोटि सुविधा उपलब्ध गराउन सकिने हुँदा केही दिनअघि नै बुकिङ गर्नुपर्ने परिस्थिती हुने जानकारी दिए।
पर्यटन गतिविधि बढेपछि तालतलैया क्षेत्रमा हाल छ वटा कृत्रिम पोखरी तथा दुई वटा मोटरबोट सञ्चालनमा छन्। मंसिरदेखि माघसम्म यहाँको पर्यटक चाप उच्च रहने गर्छ। कुल पर्यटकमध्ये करिब ४० प्रतिशत भारत तथा सिरहा–सप्तरी क्षेत्रबाट आउने गरिएको समितिको तथ्यांक छ। तालतलैयामा रहेको सानो चिडियाखाना—जहाँ दुम्सी, मयुर, चित्तल, हाँस, बाघडुल्ला, बाँदरलगायत वन्यजनावर छन्—पछिल्लो समय थप आकर्षण बनेको छ।
आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट प्राप्त ८५ लाख रुपैयाँको बजेटले शौचालय, चिडियाखानाका संरचना, नर्सरी, वाटर फाउन्टेन र बालबालिकाका लागि चिल्ड्रेन पार्क लगायतका पर्यटकमैत्री पूर्वाधार निर्माण गरिएको अध्यक्ष रायमाझीले बताए। स्कुले बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउने संख्या उल्लेखनीय हुने उनको भनाइ छ।
यसबाहेक स्थानीय व्यवसाय पनि फस्टाउँदै गएको छ। व्यापारी चन्द्रकला श्रेष्ठका अनुसार दैनिक सयौँ पर्यटक आउँदा चटपटे, मो:मो, चाउमिनलगायत खाद्य परिकारको बिक्री बढेर आयस्तरमा प्रत्यक्ष सुधार भएको छ।
मोरङको कानेपोखरीबाट आएको निरोज थापाले तालतलैया छुट्टी मनाउन उपयुक्त स्थान भएको उल्लेख गर्दै भने, “फराकिलो क्षेत्र, सुन्दर फोटो स्पट, बोटिङ र रमणीय बगैँचाले हामी बारम्बार यहाँ आइरहन्छौँ।”
प्रदेश र संघीय सरकारको सहयोगमा संरचनाको जीर्णोद्धार, जनावर बासस्थान संरक्षण तथा अन्य पूर्वाधार विकास भइरहेकाले तालतलैया पूर्वक्षेत्रको प्रमुख वनभोज तथा मनोरञ्जन केन्द्रका रूपमा अझ विस्तार हुँदै जाने अपेक्षा राखिएको छ।








