पोखराको पहिचान बन्दै सडक महोत्सव, २७औँ संस्करणका लागि तयारी सुरु


टुरिजम पाना गण्डकी । २० मंसिर २०८२

अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न रेवान (रेष्टुरेन्ट एन्ड बार एसोसिएसन) पोखराले प्रत्येक वर्ष आयोजना गर्दै आएको पोखरा सडक महोत्सव अब यहाँको विशेष पर्यटकीय पहिचानका रूपमा स्थापित भइसकेको छ।

सन् १९९८ मा सानो रूपमै सुरु भएको महोत्सवले २६ संस्करण पूरा गरिसकेको छ र यस वर्ष पुस १३ देखि १७ गतेसम्म लेकसाइडको करिब ३.५ किलोमिटर क्षेत्रलाई महोत्सव स्थल बनाइने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए। ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित अगाडि बढ्दै आएको यो महोत्सवले खाना, संस्कृति र संगीतको प्रवद्र्धनसँगै पोखराको पर्यटन मात्र होइन, नेपालको समग्र पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान गरेको उहाँको भनाइ छ।

अध्यक्ष पौडेलका अनुसार कुनै समय नयाँ वर्ष मनाउन गोवा वा थाइल्यान्ड जाने परम्परा पोखरा सडक महोत्सवले तोडिदिएको छ र आज पोखरा अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यको रूपमा चिनिन सफल भएको छ।

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्— महोत्सवकै कारण नयाँ वर्ष आसपासका केही दिन पोखराका होटेलहरू ९० प्रतिशतसम्म भरिने गर्छन्। उनका अनुसार पोखरामा हालसम्म रु ८ खर्ब बराबरको पर्यटन क्षेत्र–सम्बन्धी लगानी भइसकेको छ, जसमा रु ६ खर्बजति होटल व्यवसायमा मात्रै लगानी छ। पोखराले दैनिक ४० हजार पर्यटक राख्न सक्ने क्षमता राखे पनि नयाँ वर्षतिर देश–विदेशबाट आउने भीडका कारण सबै होटल भरिन पुग्ने उहाँको अनुभव छ।

पोखरा सडक महोत्सवको अवधारणा पोखराका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको अनुभवसँग जोडिएको छ। सन् १९९७ मा गोवा भ्रमणका क्रममा देखेको ‘फुड एन्ड म्युजिक फेस्टिभल’ बाट प्रभावित भई उनले पोखरामै यस्तै गतिविधि गर्न सकिने निष्कर्ष निकालेका थिए। त्यतिबेलै पोखरा आएका राजा वीरेन्द्रसँग भेट हुँदा जाडोयाममा पोखरामा पर्यटक नदेखिएको उनको चिन्ता सुनेपछि भट्टराईलाई festival सुरु गर्न थप प्रेरणा मिलेको उनले सुनाए।

यसै पृष्ठभूमिमा १९९८ देखि सुरु भएको सडक महोत्सवले सुरुमा आधा किलोमिटर क्षेत्रमा मात्र सञ्चालन भए पनि अहिले यो पोखराको ब्रान्डकै रूपमा स्थापित भइसकेको छ। हिमाली क्षेत्रमा पदयात्रा सकेर फर्कने विदेशी र आन्तरिक पर्यटक दुवैको चहलपहल कम हुने समयमा गरिएको यस महोत्सवले केही दिन पोखराको पर्यटन व्यापक रूपमा सक्रिय बनाउने भट्टराईको भनाइ छ। साथै, उनले महोत्सवलाई स्थानीय उत्पादन र सांस्कृतिक विविधतासँग थप जोड्न राज्यले सहयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक वसन्त गौतमका अनुसार क्रिसमस र नयाँ वर्षमा आफ्नो देश फर्कने धेरै विदेशीलाई महोत्सवले पोखरामा नै रोक्न सफल हुँदै आएको छ। पछिल्ला वर्षमा त विशेषगरी यही महोत्सव हेर्नकै लागि विदेशी आउने क्रम बढेको छ भने देशका विभिन्न भागबाट आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य छ।

महोत्सव अवधिभर लेकसाइडको सडकमा विभिन्न परिकार चाख्दै नृत्य, संगीत र सांस्कृतिक माहोलमा पर्यटक रमाउने गर्छन्। विदेशीहरूले नेपालमा बनेका ह्यान्डिक्राफ्ट किन्न रुचाउने, त्यस्तै ढाका, माटोका भाडा तथा स्थानीय उत्पादनको व्यापार बढ्ने रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले बताए।

महोत्सवमा राष्ट्रिय–अन्तरराष्ट्रिय परिकारको प्रत्यक्ष स्वाद लिन पाइने, ख्यातिप्राप्त कलाकारहरूको लाइभ कन्सर्ट, मौलिक लोकदोहोरी, तथा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिन्छ। साथै फेवातालमा डुंगा दौड, वेटर दौड, टग–अफ–वार, पोखरासम्बन्धी टक शो, वृत्तचित्र तथा फोटो प्रदर्शनीजस्ता गतिविधिहरू पनि आयोजना गरिने छन्।

२० मंसिर २०८२