विश्वप्रसिद्ध ट्रेकिङ गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा विदेशी पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा मात्र दुई लाख ७३ हजार ६४६ विदेशी नागरिक यहाँ पुगेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) ले जनाएको छ।
यीमध्ये एक लाख १५ हजारभन्दा बढी एसिया बाहेकका मुलुकका पर्यटक छन्, जबकि बाँकी भारत तथा दक्षिण एसियाका नागरिक रहेको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार अप्रिल महिना सबैभन्दा व्यस्त रह्यो, जसमा ४४ हजार ७६३ विदेशी पर्यटक आएका थिए।
जनवरीमा भने सबैभन्दा कम, जम्मा ९ हजार ३५९ पर्यटकले भ्रमण गरेका थिए।
महिनागत आगमन यस प्रकार छ:
-
फेब्रुअरी : १२,०६८
-
मार्च : ३६,८३४
-
मे : ३४,७१६
-
जुन : २६,००८
-
जुलाई : १४,२३३
-
अगस्ट : १२,१३२
-
सेप्टेम्बर : १९,३८६
-
अक्टोबर : ३७,०७६
-
नोभेम्बर : २७,०७१
गत वर्ष २०२४ मा दुई लाख ४४ हजार ४५ विदेशी पर्यटक पुगेका थिए। यस वर्षको आगमनले अघिल्लो वर्षको संख्या पार गरिसकेको डा. कडरियाले बताए। उनका अनुसार मे र सेप्टेम्बरमा केही कमी देखिए पनि बाँकी महिनाहरूमा उल्लेख्य बृद्धि भएको छ।
जाडो सुरु हुनासाथ आगमन घट्ने, तर मार्चदेखि पुनः तिब्र वृद्धि हुने प्रवृत्ति यस वर्ष पनि दोहोरिने अनुमान गरिएको छ।
सामान्यतया सेप्टेम्बर–नोभेम्बर र मार्च–मे अन्नपूर्ण पदमार्ग सबैभन्दा धेरै पर्यटकले रोज्ने मौसम मानिन्छ।
सडक मार्ग हुँदै भारतीय पर्यटक, पदयात्रा विदेशीको मुख्य रोजाइ
मुक्तिनाथलगायत गन्तव्य पुग्ने अधिकांश भारतीय पर्यटकले सडक मार्ग रोज्ने गरेका छन् भने अन्य मुलुकका पर्यटकहरू मुख्यतया पदयात्रा मार्ग प्रयोग गर्छन्। ACAP ले विदेशी आगन्तुकहरूको मात्र तथ्यांक राख्ने गरेको भए पनि मुस्ताङ–घोडेपानी क्षेत्र हुँदै आन्तरिक पर्यटक संख्या पनि हरेक वर्ष बढिरहेको देखिन्छ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अझै पनि अग्रस्थानमा
अन्नपूर्ण चक्रीय पदमार्गका प्रमुख गन्तव्य—
अन्नपूर्ण बेस क्याम्प, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक, तिलिचो ताल, थोरङला पास, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानी–पुनहिल—
बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने ठाउँ मानिन्छन्।
सन् २०२३ मा १ लाख ९१ हजार ६६६ विदेशी आगन्तुक आएका थिए। महामारीको वर्ष २०२० मा १८ हजार ८३६ मा सीमित पर्यटक संख्या अहिले क्रमशः बढ्दै फेरि महत्त्वपूर्ण उचाइमा पुगेको तथ्याङ्कले देखाउँछ।
किन लोकप्रिय छ अन्नपूर्ण?
सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेट्छ।
प्राकृतिक सौन्दर्य, हिमाल–पहाड–तराईको मिश्रित भूगोल, स्थानीय संस्कृति, जैविक विविधता तथा सहज पूर्वाधारका कारण अन्नपूर्ण पदमार्ग विश्वकै उत्कृष्ट ट्रेकिङ मार्गमध्ये एक मानिन्छ।








