दातृ सहयोगमा पाँचौँ राष्ट्रिय बाघ गणना सुरु, चैतमा तथ्यांक सार्वजनिक हुने


काठमाडौं । नेपालमा बाघको अवस्थाबारे यथार्थ तथ्यांक निकाल्ने उद्देश्यसहित पाँचौँ राष्ट्रिय बाघ गणना आजदेखि औपचारिक रूपमा सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा एक कार्यक्रमबीच गणनाको शुभारम्भ गरिँदैछ भने यसको अन्तिम नतिजा चैत महिनाभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।

देशभर बाघ पाइने निकुञ्ज, वन्यजन्तु आरक्ष र राष्ट्रिय वन क्षेत्रलाई समेटेर वैज्ञानिक विधिबाट गणना गरिँदैछ । यसपटक चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी तीन ठूला ‘कम्प्लेक्स’ बनाएर बाघको गणना हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बाघ बासस्थानमा २ हजार ३ सय स्वचालित क्यामेरा जडान गरिनेछ । यसका लागि अनुमानित २ करोड ५० लाख रुपैयाँ खर्च हुने जनाइएको छ । गणनामा २५० भन्दा बढी प्राविधिक तथा जनशक्ति परिचालन गरिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते कसरामा गणनामा संलग्न जनशक्तिलाई तालिम दिइनेछ । तालिमपछि पुस ३ गतेदेखि उनीहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा खटाइने निकुञ्ज प्रमुख डा. गणेश पन्तले बताए ।

गणनाका क्रममा दुई बाई दुई वर्ग किलोमिटर क्षेत्रलाई एक ग्रिड मानी प्रत्येक ग्रिडमा एक जोडी क्यामेरा राखिनेछ । चितवन–पर्सा कम्प्लेक्समा मात्र ८ सयदेखि ९ सयसम्म ग्रिड तयार हुनेछन् भने बाँके–बर्दियामा करिब ८ सय ग्रिड रहनेछन् । आवश्यकताअनुसार क्यामेरा सारेर प्रयोग गरिनेछ ।

बाँके–बर्दिया क्षेत्रमा पुस ५ गतेदेखि गणना सुरु हुने छ भने क्यामेराको सीमितताका कारण चितवन–पर्सा ब्लकको काम सकेपछि मात्र शुक्लाफाँटा–लालझाडी क्षेत्रमा क्यामेरा जडान गरिने विभागका उपमहानिर्देशक डा. हरिभद्र आचार्यले जानकारी दिए ।

स्वचालित क्यामेराले मिति, समय र स्थानसहित फोटो खिच्नेछन् । बाघ बढी आवतजावत गर्ने गोरेटो, पानीका स्रोत नजिक, फायरलाइन तथा मृगजस्ता आहारा प्रजाति पाइने क्षेत्रमा क्यामेरा राखिनेछ । बाघको शरीरमा रहेका पाटाको बनोट फरक हुने भएकाले त्यसैको आधारमा सफ्टवेयरमार्फत पहिचान गरी संख्या निर्धारण गरिन्छ । एउटै बाघको दोहोरिएको फोटो गणनामा समावेश गरिँदैन ।

नेपालमा सन् २००९ देखि स्वचालित क्यामरा प्रयोग गरेर बाघ गणना हुँदै आएको छ । यसपटक संकलित तथ्यांक सन् २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गर्ने तयारी छ ।

यसअघि भएका गणनामा बाघको संख्या निरन्तर बढ्दो क्रममा देखिएको छ । सन् २००९ मा १२१ रहेको बाघ संख्या २०१३ मा १९८, २०१८ मा २३५ र २०२२ मा ३५५ पुगेको थियो । पछिल्लो गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन (१२८) र बर्दिया (१२५) मा भेटिएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भइरहेको यस अभियानमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएललगायत संस्थाहरूले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेका छन् ।

१ पुष २०८२