अब नेपाली नागरिकले अमेरिका जान भिजिट (बी–२) वा बिजनेस (बी–१) भिसा आवेदन गर्दा नगद धरौटी रकम बुझाउनुपर्ने व्यवस्था लागू हुने भएको छ। अमेरिकी सरकारले जारी गरेको नयाँ निर्देशिकाअनुसार यो प्रावधान सन् २०२६ अर्थात् २०८३ साल माघ ७ गते (जनवरी २१, २०२६) देखि कार्यान्वयनमा आउनेछ।
नयाँ नियमअनुसार भिसा स्वीकृत भएपछि आवेदकले अमेरिकामा बस्ने निर्धारित अवधिको ग्यारेन्टीस्वरूप सुरक्षा रकम जम्मा गर्नुपर्नेछ। कन्सुलर अन्तर्वार्ताका क्रममा निर्णय हुने यो धरौटी रकम ५ हजार अमेरिकी डलरदेखि १५ हजार अमेरिकी डलरसम्म हुन सक्ने जनाइएको छ।
धरौटी रकम बुझाउँदैमा भिसा स्वीकृत हुने सुनिश्चितता भने हुँदैन। तर, भिसा प्राप्त गरेपछि निर्धारित समयमै अमेरिका छोडी नियमको पालना गरेमा उक्त रकम फिर्ता पाइने व्यवस्था गरिएको छ। आवेदकले अमेरिका बसाइँ समाप्त गरी कानुनअनुसार देश छोडेपछि मात्र धरौटी रकम फिर्ता हुने बताइएको छ।
त्यसैगरी, भिसा लिएर अमेरिका प्रवेश तथा नेपाल फर्किने क्रममा तोकिएको अध्यागमन प्रक्रिया पूर्ण रूपमा पालना गरेमा मात्रै धरौटी रकम फिर्ता पाउने व्यवस्था लागू हुनेछ। अमेरिकी सरकारको यो कदम भिसा दुरुपयोग र ओभरस्टे नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको बताइएको छ।








