भरतपुर महानगरपालिकाको इतिहासकै सबैभन्दा ठूलो र महत्वाकांक्षी परियोजनाका रूपमा रहेको नारायणी तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ। करिब ५ अर्ब रुपैयाँको लागतमा नारायणगढदेखि गोलाघाटसम्मका तटीय क्षेत्र समेटेर निर्माण गरिएको यस तटबन्धले एक लाखभन्दा बढी भरतपुरवासीलाई बाढी र कटानको दीर्घकालीन जोखिमबाट सुरक्षित बनाएको छ।
गत दुई वर्षदेखि पाँचभन्दा बढी प्याकेजमा एकसाथ अघि बढाइएको यो परियोजना आधुनिक प्रविधि तथा स्रोत–साधन प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको हो। यति ठूलो आकार र एकीकृत ढंगमा तटबन्ध निर्माण नेपालमै पहिलो पटक भएको महानगरपालिकाले जनाएको छ।
यसअघि नारायणी नदीमा साना–साना प्याकेजमा तटबन्ध निर्माण गरिँदै आए पनि ती प्रयासहरू प्रभावकारी हुन सकेका थिएनन्। विगतमा २०–२५ लाख रुपैयाँ लागतका थुप्रै डाइक निर्माण भए तापनि नदी कटान र बाढीको जोखिम नियन्त्रण गर्न असफल भएका थिए। तर यसपटक एकीकृत डीपीआर (डिटेल्ड प्रोजेक्ट रिपोर्ट) तयार गरी अर्बौं रुपैयाँको परियोजना अघि बढाइएकाले दीर्घकालीन समाधान सम्भव भएको भरतपुर महानगरपालिकाको भनाइ छ।
तटबन्ध निर्माणले जनधनको क्षति रोक्नुका साथै तटीय क्षेत्रका बासिन्दालाई “चैनको निन्द्रा” फर्काएको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले बताएकी छन्। उनका अनुसार यो परियोजना भरतपुरका विकास योजनामध्ये सबैभन्दा प्रभावकारी र जनमैत्री योजनामध्ये एक हो।
सुरक्षासँगै तटबन्धले पर्यटकीय सम्भावना समेत विस्तार गरेको छ। तटबन्धको डाइक क्षेत्रमा वृक्षरोपण र सौन्दर्यकरण कार्य गरिँदा नारायणगढदेखि गोलाघाटसम्म नयाँ पर्यटकीय पूर्वाधार विकासको वातावरण बनेको छ। तटबन्ध निर्माण सुरु भएयता तटीय क्षेत्रमा निजी क्षेत्रको लगानीमा विभिन्न पूर्वाधार निर्माण कार्यहरू समेत तीव्र गतिमा अघि बढिरहेका छन्।
महानगरपालिकाका अनुसार यस परियोजनाले भरतपुरलाई सुरक्षित सहर बनाउनुका साथै दीर्घकालीन पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ। यसैबीच, भरतपुरको दक्षिण भाग भएर बग्ने राप्ती नदीमा तटबन्ध निर्माणका लागि डीपीआर तयार भइसकेको र आगामी दिनमा बजेट विनियोजन भई काम अघि बढेमा भरतपुर पूर्ण रूपमा सुरक्षित सहर बन्ने अपेक्षा गरिएको छ।








