काठमाडौं । मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा उत्पन्न हालैको प्रतिबन्ध र प्राविधिक कठिनाइका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मध्यपूर्वका देशहरूलाई गन्तव्य बनाएर उडान भर्ने वायुसेवा कम्पनीका जहाजहरू ढिलाइ हुने, उडान तालिका परिवर्तन हुने वा रद्द हुने अवस्था सिर्जना भएको हो ।
आजका लागि तय गरिएका विभिन्न सातवटा वायुसेवा कम्पनीका दर्जनभन्दा बढी उडानहरु रद्द गरिएको विमानस्थलले जानकारी दिएको छ ।
अवरोधका कारण जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कुवेत, शारजाह, दुबई, दोहा र दमामका उडानहरु रद्द भएका छन् । फ्लाई दुबईका उडानहरु आगामी मार्च ११ तारिखसम्म नै रद्द गरिएको सूचनामा उल्लेख छ ।
विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनी तथा निकायसँग समन्वय भइरहेको जनाएको छ ।
उडान रद्द भएपछि यात्रुहरूलाई थप जानकारीका लागि आ–आफ्नो वायुसेवा कम्पनीको वेबसाइट वा उपलब्ध गराइएका टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।








