पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर गाउँपालिकामा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको छ। चैत २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सन्दकपुर गाउँपालिकाको आयोजनामा हुने महोत्सवको मुख्य उद्देश्य रेडपाण्डा लगायतका लोपोन्मुख वन्यजन्तुको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु तथा क्षेत्रीय पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। महोत्सव विशेषगरी ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको हो।
४० किलोमिटर लामो रेडपाण्डा पदमार्गले इलामको माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीय स्थललाई जोड्ने गर्दछ। यस मार्गमा रेडपाण्डासहित विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा जैविक विविधताको अध्ययन अवलोकन गर्न सकिने व्यवस्था रहेको छ।
महोत्सव अवधिमा पर्यटकहरूले सन्दकपुर डाँडाबाट सूर्योदय र सूर्यास्तको अवलोकन, हिमश्रृंखलाको मनोरम दृश्य, जङ्गल सफारी, स्थानीय संस्कृति तथा परिकारको अनुभव लिन पाउनेछन्। साथै, माईपोखरी जस्ता रामसार सूचीमा सूचीकृत क्षेत्रको अवलोकन, चराचुरुङ्गी तथा वनस्पतिको अध्ययनजस्ता गतिविधि पनि समेटिने छन्।
आयोजकका अनुसार महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। सन्दकपुर क्षेत्र भारतसँग सिमाना जोडिएको हुँदा भारतीय पर्यटकको आगमन पनि उल्लेख्य रहने अपेक्षा गरिएको छ।
यसअघि आयोजना गरिएका रेडपाण्डा महोत्सवहरूले स्थानीय स्तरमा पर्यटन व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा वातावरण संरक्षणप्रति जागरण ल्याउन सहयोग पुगेको जनाइएको छ। आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिने योजना रहेको गाउँपालिकाले जनाएको छ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण सन्दकपुर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।
तस्वीरहरू: सुजन तिम्सिना











