फोटोपत्रकारद्धय तितिक्षु र श्रेष्ठलाई एनएफपिजे बिशेष नारी सम्मान-२०७९


टुरिजम पाना काठमाडौं । २४ फाल्गुन २०७९

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले फोटोपत्रकार विशेष नारी सम्मानको घोषणा गरेको छ । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालका दुई जना फोटोपत्रकारहरुलाई सम्मान गर्ने घोषणा गरेको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको केन्द्रीय कमिटी बैठकले पहिलो महिला फोटोपत्रकार उषा तितिक्षु र सगरमाथा आरोही साहसी महिला फोटोपत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

बैठकले उक्त सम्मान आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरि सम्मान गर्ने निर्णय गरेको छ ।

को हुन् फोटोपत्रकार उषा तितिक्षु ?

२०४६ सालदेखि निरन्तर फोटोग्राफी सँगै फोटोपत्रकारितामा सक्रिय नेपालकै पहिलो महिला स्वतन्त्र फोटो पत्रकार हुन उषा तितिक्षु । पाल्पाको तानसेनमा मध्यमवर्गीय परिवारमा जन्मिएकी तिवारी फोटोग्राफीमा अञ्जानअञ्जानमै पाइला टेकेको देखिन्छ । उनको परिवारमा बुबाआमा नै फोटोका सोखिन थिए ।

जागिरे बुबाले बेलाबखत स्टुडियोमा गएर परिवारको फोटो खिचाउँथे । तौलिहवामा हुँदा बुबाले स्टुडियोको फोटोग्राफरलाई ल्याएर फोटो खिचाएको उनी सम्झिन्छिन् । व्यावसायिक फोटोग्राफर वा पत्रकार उषाको परिवारमा कोही थिएन ।

कान्तिपुर, द काठमाडौं पोस्ट, हिमाल खबर, मूल्याङ्कन, युगसंवाद, दृष्टि, अस्मितालगायत थुप्रै पत्रिकाले उनले खिचोका तस्वीर छापेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेको बखत उनले खिचेका केही तस्वीरको चर्चा विदेशमा पनि भयो । बहुदलपछि देशमा भएका महत्त्वपूर्ण राजनीतिक घटना, परिघटनालाई क्यामेरामा कैद गर्न सफल हुनु भएको थियो ।

३३ वर्ष भइसक्यो, उषाले क्यामेराको लेन्सलाई अगाडि पारेर दौडिएको । ५१ वर्षीया उनको प्रण छ, हातगोडाले काम गरेसम्म क्यामेरा नबिसाउने । हाल उनी फोटो पत्रकारिता सँगसँगै अपाङ्गता भएका, मानव बेचबिखनबाट प्रभावित, यौनिक लैङ्गिक समुदाय, भेदभावमा परेका व्यक्तिहरुको एवं द्वन्द्वप्रभावित व्यक्तिहरूको अधिकारको पक्षमा उनी वकालत गरिरहेकी छिन् ।

को हुन् फोटोपत्रकार पूर्णिमा श्रेष्ठ ?

गोर्खा आरुघाटमा मध्यम किसान परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठले भीमोदय मावि आरुघाटबाट एसएलसी गरेकी उनले सिटिजन इन्टरगेट कलेजबाट पत्रकारितामा स्नातक गरेकी छिन् ।

एक दशक देखि फोटोपत्रकरितामा सक्रिय पुर्णिमा कारोबार राष्ट्रिय आर्थिक दैनिक, न्यूयोर्क टाइम्स लगायत विभिन्न विदेशी मिडियामा आबद्ध रहेको अनुभव छ ।

श्रेष्ठले आफ्नो सगरमाथा आरोहण को क्रममा सगरमाथा आधार शिविरमा फोटो प्रदर्शनीको गर्नु को साथै नेपालतर्फबाट गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्दै कीर्तिमान कायम समेत गरेकी छन्।

२४ फाल्गुन २०७९