चितवनमा चैत १५ बाट प्याराग्लाइडिङ सुरू हुँदै, के छ त प्याकेज ?


सोनी शाही काठमाडौं । २४ फाल्गुन २०७९

पोखरामा व्यवसायिक प्याराग्लाइडिङ गर्दै आइरहेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले चितवनको आकाशमा पनि व्यवसायिक उडान गर्ने अन्तिम तयारी सुरू गरेको छ ।

पर्यटकीय गन्तव्य चितवनमा कम्पनीले आगामी चैत १५ गतेदेखि व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडाउने तयारी गरेको छ । कम्पनीले चितवनको भरतपुर महानगरपालिका २९ चौकीडाँडाबाट उडान गर्ने तयारी गरेको सञ्चालक शैलेन्द्र रावतले टुरिजमपानालाई जानकारी दिए ।

चितवनमा प्याराग्लाइडिङ गर्न अनुमति पाउने यो पहिलो कम्पनी हो । कम्पनीले व्यावसायिक उडान सुरू गर्नुपूर्व परीक्षण उडानहरू गरिरहेको छ । मंगलबार मात्रै पनि कम्पनीले प्याराग्लाइडिङको परीक्षण उडान गरेको सञ्चालक रावतले बताए ।

टेण्डम (व्यवसायिक) उडानका लागि लागि कम्पनीले अनुमति पाएको हो । कम्पनीले समुद्री सहतको ११ सय मिटरको चौकीडाँडा र ५८० मिटर उचाइको कविलासबाट प्याराग्लाइडिङ उडाउने (टेकअफ) व्यवस्था गरिएको सञ्चालक रावतले बताए ।’ उनका अनुसार, प्याराग्लाइडिङको अवतरण भने तनहुँको देवघाट गाउँपालिकामा पर्ने त्रिशुली नदी किनारको २५० मिटरको उचाइमा हुनेछ ।  चितवनबाट उडेको प्याराग्लाइडिङले त्रिशुली नदी पार गर्दै तनहुँमा पुगेर अवतरण गर्नेछ ।

चौकीडाँडा र कविलासबाट उडान भरेपछि एक नटिकल माइल (१.८५ किलोमिटर) सम्म चारैतिर उड्न पाउनेगरि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको राउतले जानकारी दिए । साथै आकाशमा ५ हजार फिटसम्म माथि जान पाइनेछ । कम्पनीले चितवनको प्याराग्लाइडिङका लागि १० जनासम्म पाइलट राख्न पाउनेछ । पोखरामा भने कम्पनीले ६ जना पाइलट राख्नका लागि प्राधिकरणले अनुमति दिएको उनको भनाइ छ ।

पोखरामा यस अघि नै व्यवसायिक उडान गरिरहेको यस कम्पनीले नयाँ शाखाको रुपमा चितवनमा सेवा विस्तार गरेको हो । प्याराग्लाइडिङका लागि कम्पनीले ८ हजार रुपैयाँ प्रति व्यक्ति शुल्क निर्धारण गरेको छ । जसमा अहिले छुटसहित ६ हजार ५ सय रुपैयाँमा उडाइने राउतले जानकारी दिए ।

चितवनको सौराहामा जंगल सफारी गर्न पुगेका पर्यटकहरूले अब केही समय लम्ब्याएर चितवनबाटै प्याराग्लाइडिङको मज्जा लिन सक्ने सञ्चालक राउत बताउँछन् । चितवनको पर्यटन व्यवसायलाई थप विस्तार गर्न प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्न लागिएको उनले बताए ।

उनी भन्छन्,‘साहसिक हवाई मनोरञ्जनात्मक खेलकुद गतिविधिमा पनि चितवनलाई अगाडि बढाउनका लागि व्यवसाय सञ्चालन गर्न लागेका हौं ।’ चौकीडाँडा मुग्लिन नारायणगढ राजमार्गबाट नजिकको दूरीमा पर्दछ । दासढुङ्गा माथिको डाँडा चौकीडाँडाको नामले परिचित छ । सोही डाँडाबाट अब प्याराग्लाइडिङले उडान भर्नेछ ।

राजमार्गबाट सहजै चौकीडाँडा पुग्न सकिने राउतको भनाइ छ । उनले भने,‘भित्री सडक पिच भइसकेका छन्, निजी गाडी वा त्यता सञ्चालित सार्वजनिक गाडीबाट सहजै चौकीडाँडा पुग्न सकिन्छ ।’ कविलासमा सुविधा सम्पन्न रिसोर्टहरू रहेकाले पाहुनाहरूलाई सहज हुने उनी बताउँछन् । कम्पनीले चौकीडाँडामा करिब डेढ अर्बको परियोजना त्यस क्षेत्रमा सुरू गरेको हो ।

२४ फाल्गुन २०७९