प्याराग्लाइडिङ नेपालमा सन् १९९६ अक्टोबरमा पोख्रेली पर्यटन व्यवसायी बिरु बम्जमले बेलायती पाइलट एडम हिललाई पोखरा ल्याएर शुरू गरेका थिए ।
प्याराग्लाइडिङको सफल परीक्षण उडानपछि नेपालमै पहिलोपटक सन् १९९९ मा बम्जमले ‘सनराइज प्याराग्लाइडिङ कम्पनी स्थापना गरे ।
साढे दुई दशकको यो इतिहासमा सयौं नेपाली पाइलट ग्लाइडर लिएर यात्रुहरू उँडाइरहदा त्यस भित्र महिला पाइलटको सङ्ख्या पछिल्लो समय बढ्दो छ । प्याराग्लाइडिङको पहिलो सोलो महिला पाइलट तृषा श्रेष्ठ हुन् भने पहिलो महिला टेण्डम पाइलट प्रतिभा भुजेल हुन् ।
तृषा श्रेष्ठ
ग्राफिक डिजाइनर तृषा श्रेष्ठसँग डिजाइन बनाउन राजेस बमजन आउने गर्थे । सुन्दर डिजाइन बनाउने तृषाको आनिबानी र सालिनता राजेसलाई मन परेछ । लेकसाइडमा पिज्जा खाँदै ‘डेट’ गर्न थाले ।
एक दिन अकस्मात प्याराग्लाइडिङ गर्ने प्रस्ताव गरेपछि तृषा राजेस सँगै सराङ्कोट पुगिन् । आफ्नो प्रेमीसँग स्वतन्त्र चरा झैँ उड्न पाउँदा को खुसी नहोला र । करिब दस मिनेट खुबै रमाइलो पनि गरिन् । त्यसपछि ‘मोसन सिकनेस’ भयो । उनीहरू यात्रा छोट्याएर ‘ल्यान्डिङ’ गरे । दुई वर्षको चिनजान पछि उनीहरूको बिहे भयो ।
सनराइज प्याराग्लाइडिङको बागडोर दुबैको हातमा आयो । तृषा कार्यलय सम्हाल्थिन राजेस यात्रु उडाउँथे। सन् २००८ मा अफिसमा बसिरहँदा तृषाको मनमा पाइलट बन्ने रहर पलायो । जब तालिम लिँदै गइन् उनको उत्साह झन् बढ्दै गयो । ‘ग्राउन्ड ह्यान्डलिङ’ सिके पछि प्रशिक्षकले सानो डाँडामा लगेर उनलाई एक्लै उड्न लगाए । ‘टेक अफ’ र ‘ल्यान्डिङ’मा फरक फरक फरक प्रशिक्षकले रेडियो सेट मार्फत समन्वय गरेर उडेपछी तृषाको आत्मबिश्वास झन बढ्यो ।
तालिम चल्दै थियो तृषा गर्भवती भइन् । तालिम रोकियो । पाइलट हुने सपना अलि पर धकेलिए पनि आमा हुने खुसीले उनी मख्ख भइन्। उनी गर्भवती भएको बेला पनि राजेस तृषालाई लिएर उड्न जान्थे ।
छोरी एक बर्षकी भएपछि तृषाले फेरि तालिम सुरु गरिन्। यसरी पहिलो प्यराग्लाइडिङ कम्पनीकी संचालक र पहिलो नेपाली प्याराग्लाइडिङ पाइलटकी श्रीमती तृषा पहिलो नेपाली सोलो प्याराग्लाइडिङ पाइलट बनिन् ।
१२ वर्षदेखि सोलो उडान गर्दै आएकी उनी ९ वर्षदेखि निरन्तर ब्यवसायिक उडानमा छिन् । पर्यटनको मुख्य आकर्षण मध्ये पर्ने भएकाले यो पेषा ग्ल्यामर भएको तृषाको तर्क छ । तर बाहिर जस्तो देखिए पनि आन्तरिक मजबुति नभएको उनी गुनासो गर्छिन् । महिला भएकै कारण आफुले समस्या भोग्नु नपरेको उनको भनाइ छ ।
अफिसको ब्यवस्थापनदेखि नियमित यात्रु उडाउने तृषा दैनिक २ घण्टा जिम गर्न पनि भ्याउँछिन् । १० वर्षकी छोरी सँगै लिएर उनी कहिले हिडेरै सराङ्कोट उक्लन्छिन् त कहिले छोरीसँगै साइक्लीङमा निस्कन्छिन् ।
पछिल्लो समय बढ्दो महिला पाइलटको सङ्ख्या देख्दा उनी निकै खुसी छिन् । तर सरकारी तवरबाट प्याराग्लाइडिङ ब्यवसाय प्रवर्द्धन गर्न आवस्यक कदम नचालिएकोमा उनको गुनासो छ ।
कृशु पौडेल
पोखराकी कृशु पौडेल १२ वर्ष अगाडि सराङ्कोटमा प्याराग्लाइडिङ उड्न गइन् । कृशुलाई आफै उडेपछी म पनि पाइलट बन्न सक्छु भन्ने लाग्यो । उनको परिवारमा बिदेश जाने लहर थियो । दुई जना दाइ र दिदी बिदेश भएकै बेला कृशुले प्याराग्लाइडिङ पाइलट बन्ने इच्छा व्यक्त गरिन् ।
प्याराग्लाइडिङले खसै ब्यवसायिकता नलिसकेको समय त्यसमाथी एडभेन्चर फिल्ड भएकोले आमाबुबाले सुरुमा नाक खुम्च्याएको कृशु सम्झिन्छिन् । तर उनको दृढ इच्छा देखेपछी परिवारको समर्थन पाइन् ।
कृशुले ब्लु स्काइ प्याराग्लाइडिङ स्कुलमा बिदेशी प्रशिक्षक सब्रीना थेलेन सग सिक्ने अवसर पाइन् । महिला प्रशिक्षकसँग सिक्न पाउँदा उनी पनि दङ्ग थिइन् भने सब्रीना पनि महिला प्रशिक्षार्थी पाएर खुसी भइन।
१५ दिनको तालिम पछि उनी सोलो (एक्लै) उड्ने भइन। जब उनी तालिममा ‘इन्जोय’ गर्न थालिन उनलाई आफ्नो जिवनमा खुसी साथ गर्ने पेशा यै हो भनेर महसुस भयो । ३ बर्षको दर्जनौं उडानले उनमा सीप सँगै आत्मबिस्वास बढायो। पछिल्लो १० वर्ष देखि उनी ब्यवसायिक उडान गरिरहेको उनी बताउँछिन् ।
कृशुले प्याराग्लाइडिङ सिक्दै देखिका राम्रो साथी प्यारा पाइलट सुशील गुरुङको सुशील स्वभावले उनलाई आकर्षित गर्यो । वर्षौंको मित्रतालाई उनिहरूले बिहेमा परिणत गरे । अहिले दुबै जना एउटै क्षेत्रमा रमाइरहेका छन् । एक अर्काको दुख सुख बाड्न सजिलो हुने उनीहरू बताउँछन् ।
पन्ध्र वर्ष अनुभवी पाइलट सुशील अठारौं एसियन खेलकुदमा प्याराग्लाइडिङको क्रस कन्ट्री बिधामा नेपालबाट रजत पदक बिजेता खेलाडी हुन् । अन्नपूर्ण प्याराग्लाइडिङ कम्पनीबाट काम सुरु गरेकी कृशु अहिले सिल्भर माउन्टेन प्याराग्लाइडिङ कम्पनीमा आवद्ध छिन् । कतिपय यात्रु महिला पाइलट देखेर दङ्ग पर्छ्न । कतिले पहिल्यै महिला पाइलट खोज्दै बुकिङ गर्न आउने पनि गर्छन् । ‘रेस्पेक्ट’ सहित उड्न आउने जो कुनैलाई आफुले उडाउने कृशुको भनाइ छ ।
शर्मिला शर्मा
१२ वर्षदेखि ओपन स्काइ प्याराग्लाइडिङ कम्पनी संचालन गरिरहेकी शर्मिला शर्मालाई आफू पनि पाइलट बन्ने इच्छा जाग्यो । त्यसोत ११ वर्ष देखि ब्यवसायिक उडान गरिरहेका पाइलट प्रज्वल रन्जित उनका श्रीमान् हुन् ।
शर्मिलाले बाबू एड्भेन्चरबाट तालिम लिएर ६ वर्षदेखी व्यवसायिक उडान गरिरहेकी छिन् । श्रीमानको साथ र ढाडसले आफू अगाडि बड्न सकेको उनको भनाइ छ । आमाको सपोर्टले घर धन्दा छोडी स्वतन्त्र भएर काम गर्न पाएको उनको भनाइ छ ।
उडानमा शारीरिकभन्दा पनि मानसिक काम भएकोले एकाग्रता चाहिने शर्मिला बताउँछिन् । फ्ल्याइ टिजी प्याराग्लाइडिङ कम्पनी पनि किनेर २ कम्पनी सन्चालन गरिरहेकी छन् । उनको दुई कम्पनीमा आफूसहित २ महिला पाइलट सहित १२ जना पाइलट कार्यरत छन् ।
उनी कर्मा फ्ल्लाइट्स नामक सँस्था मार्फत सामाजिक कामहरूमा सक्रिय छिन् ।
सुस्मिता सुनुवार
ओखलढुंगाकी सुस्मिता सुनुवारको १४ वर्षको उमेरमा रामेछापका सानु बाबु सुनुवारसँग बिहे भयो । नौ कक्षा पढ्दै गर्दा पछि पनि पढाउने सर्तमा बिहे भए पनि अब भबिस्य के हुने हो भन्ने अन्योल थियो ।
सानुबाबु कायकिङ गर्थे । सुस्मिता रामेछापमै घर धन्दामा थिइन् । १६ महिनाको छोरा छोडेर उनी पोखरा आइन् । केही गर्छु भन्ने त थियो तर के गर्ने भन्ने अन्योल थियो । सानुबानु त्यो बेला कायाकिङमा सुबिख्यात नाम थियो। दुबै जना खोलाको छालसँग लुकामारी खेल्न थाले । सुस्मिताले कायकिङमा छोटो समयमै राम्रो प्रगति गरिन् । सन २००८ र २००९ को कायकिङ नेपाल च्याम्पियन हुन् उनी । सोही उपाधिले उनलाई स्विजरल्याण्ड र स्पेनसम्म पुर्यायो ।
पछि उनी सानुबाबु सँगै प्याराग्लाइडिङमा उड्न थालिन् । बेसिक कोर्स ब्लु स्काइ प्याराग्लाइडिङ बाट गरिन् भने टेन्डम कोर्स सानुबाबुसँगै गरिन् । उनीहरूले बाबू एड्भेन्चर इन्टरनेसनल प्याराग्लाइडिङ स्कुल सन्चालनमा ल्याए । सोलो (एक्लै) उड्न २००९ मै सिके पनि छोराछोरी हुर्काउनु पर्दा उनले प्याराग्लाइडिङलाई केही समय निरन्तरता दिन सकिनन् ।
उनले सन् २०१६ देखि ब्यवसायिक उडान गर्दै आइरहेकी छिन् । उनलाई कायकिङभन्दा प्याराग्लाइडिङ सजिलो लाग्छ । ग्लाइडर उडाउनु शारीरिक भन्दा पनि मानसिक काम भएको उनी बताउछिन् ।
सुस्मिताले परिवारकै प्रेरणाको स्रोत बनेकी छिन । उनैको पदचाप पछ्याउँदै उनको आफ्नै बहिनीहरू निकिता सुनुवार, सुमित्रा सुनुवार र अस्मिता सुनुवार प्यारा पाइलट भइसकेका छन् । उनकी काकाकी छोरी देवकी सुनुवार पनि पाइलट बनेकी छिन्।
पेसा र ब्यवसाय दुबै प्याराग्लाइडिङमै गर्दै आएकी सुस्मिता आफ्नो काममा अत्यन्तै सन्तुष्ट रहेकी बताउँछिन् । सन्सारका मान्छेसँग आकासमा चरा झै उड्न पाउनु नै यो पेषाको मुख्य आकर्षण भएको उनको भनाइ छ ।
उनले अहिले आफ्नै कम्पनी समेत सञ्चालन गरिरहेकी छन् । उनले सञ्चालन गरेको फ्लाइङ हिमालय प्याराग्लाइडिङ कम्पनीमा उनीसहित ६ जना पाइलट छन् ।
प्रतिभा भुजेल (पहिलो महिला ट्यान्डम प्यारापाइलट)
प्रतिभा भुजेलले सन् २००९ सालबाट ट्यान्डम प्याराग्लाइडिङ सुरू गरिन् । उनले प्याराग्लाइडिङ सुरू गर्दा तृषा र उनी मात्रै थिए । उनीहरूबाहेक केही भने सिक्दै मात्रै थिए ।
त्याे समयमा तृषाले सोलो प्याराग्लाइडिङ मात्र गर्ने भएकाले ट्यान्डम प्याराग्लाइडिङ गराउने महिला प्यारापाइलटमा प्रतिभा नै पहिलो भइन् । उनी यो क्षेत्रमा आउनका लागि पहिलो संघर्ष घरपरिवारमै गर्न परेको सम्झन्छिन् ।
त्यतिबेला यो काम महिलाले गर्न सक्दैनन्, पुरुषको मात्र काम हो भन्ने धारणा थियो । तर उनले भने घरपरिवारमा जिद्दी नै गरिन् । उनी भन्छिन्,’आफ्नै जिद्दीले घरपरिवारलाई मनाएँ र यो क्षेत्रमा आएँ । म पोखरामै जन्मेर हुर्केको भएर मलाई धेरै सजिलो पनि भयो । यो क्षेत्रमा कार्यरत प्राय सबै चिनजानकै थिए भने सानैदेखि प्याराग्लाइडिङ उडेको देखिरहेको भएर सिक्न पनि धेरै समय लागेन ।’
उनी आफू पोखरामै जन्मे हुर्किएको भएकाले पनि यस क्षेत्रमा धेरै दु:ख नभोगेको बताउँछिन् । उनले सुरूदेखि नै निकै वाहवाही पाइन् । ‘महिला प्यारापाइलट निकै कम भएकै कारणले धेरै मानिसहरूबाट निकै प्रोत्साहन र वाह्वाही पनि पाएँ,’ उनी भन्छिन्, मैले प्याराग्लाइडिङ उडाएको देख्दा कति मानिस अचम्म पर्थे र भन्थे ‘महिला भएर पनि यस्तो आँटिलो काम गर्नु हुन्छ है’ । निडर, हिम्मतिलो, आँटिलो भनेर तारिफ गर्दा निकै गर्व लाग्थ्यो ।’
विस्तारै यस क्षेत्रमा महिलाहरू बढ्न थाल्यो । पहिलाको तुलनामा अहिले धेरै महिला प्यारापाइलटहरू बढिसकेका छन् । प्रतिभाले भने कोरोना महामारीको समयदेखि प्याराग्लाइडिङ उडाउन छाडेकी छन् । व्यक्तिगत स्वास्थ्य र पोखरामा प्याराग्लाइडिङको अवस्थालाई ध्यानमा राखेर प्याराग्लाइडिङ छाडेको उनी बताउँछिन् ।
भविष्यमा पोखरामै प्याराग्लाइडिङलाई निरन्तरता दिइएमा पुनः उडान भर्ने उनको योजना छ ।
तालीम खर्च र कमाइ ?
दुई देखि तीन वर्ष तालिम लिन करिब २०- २५ लाख रुपैयाँ खर्च हुन्छ । डलरको भाउ बढ्दै जाँदा पाइलट बन्न लाग्ने खर्च पनि बढ्ने नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराई बताउँछन् ।
खासगरी ग्लाइडर पाइलट आफैँले किन्नु पर्ने हुन्छ । प्रति उडान ६०% पाइलटले पाउँछन् । पर्यटनलाई राज्यको एक महत्त्वपूर्ण आर्थिक स्रोत मान्दै गर्दा सरकारले ग्लाइडरमा भन्सार छुट गरिदिए सजिलो हुने पाइलट सबिता तामाङको तर्क छ।