एक साता हवाई सुरक्षाका उच्चतम सुधारमा पहल गर्ने पर्यटनमन्त्रीकाे प्रतिबद्धता


टुरिजम पाना काठमाकडाेँ । २४ श्रावण २०८१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले  हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएका छन् ।

पाण्डेले बुधबार राति एक विज्ञप्ति जारी गर्दै अति जरुरी बाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । दुर्घटनाको उद्धारमा अस्वाभाविक ढिलाइ भएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

१५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै उनले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने उल्लेख गरेका छन् ।

मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन अनुरोध गरेको छ ।

यस्ता सुझाव वा जानकारी मन्त्रालयको इमेलमापठाउन अनुरोध गरिएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

 

२४ श्रावण २०८१