तनहुँसुर क्षेत्र संरक्षण गर्न व्यास नगरपालिकाले गर्‍यो कार्यक्रम प्रस्ताव


टुरिजम पाना संवाददाता व्यास । २४ श्रावण २०८१
Tanahun Damauli

तनहुँको व्यास नगरपालिकाले मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रम अन्तर्गत ऐतिहासिक तनहुँसुर क्षेत्र संरक्षण र विकाय परियोजना कृषि तथा पर्यटन प्रवर्धन कार्यक्रम प्रस्ताव गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत श्रृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयहरू बताउँछन् ।

यस्तो छ तनहुँसुरको इतिहास

संस्कृत शब्द त्रितुङ्गको अर्थ तीन वटा चुचुरा भन्ने हुन्छ । तनहुँसुर तीन चुचुराहरू मिलेर बनेको छ । जसकारण त्रितुङ्गको अपभ्रंस भई तनहुँसुर नामाकरण भएको पाइन्छ ।

पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ पुस्ता सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुरको सेनवंशी राजाको दरबार अहिले पनि देख्न सकिन्छ ।

तनहुँसुरमा सेन वंशीय राजाले राज्य सञ्चालन गर्दाका तोप, दरबार, हतियार, भाषण गर्ने गद्दीचौतारो, कालिका मन्दिर, रानीले नुहाउने इनारलगायत अवलोकन गर्न सकिन्छ ।

सार्वजनिक सवारी साधनमा दमौलीबाट घाँसीकुवा हुँदै १७ किलोमिटरको दूरीमा तनहुँसुर पुग्न सकिन्छ ।

यो पनि 

आहा ! तनहुँसुर (तस्वीरहरू)

२४ श्रावण २०८१