धरानको अमाह सिमसार: दैनिक हजारौँ भ्रमणकारी आकर्षित गर्ने नयाँ पर्यटकीय गन्तव्य


टुरिजम पाना धरान । ८ मंसिर २०८२

बराहक्षेत्र नगरपालिका–४ र ५ मा फैलिएको करिब ५२ हेक्टर क्षेत्रफलको अमाह सिमसार पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा द्रुतगतिमा स्थापित हुँदै गएको छ। हरियाली जंगलको बीचमा अवस्थित प्राकृतिक भूदृश्य, विस्तृत खुला क्षेत्र र सिमसारभित्र बनाइएका चार पोखरी यसको मुख्य आकर्षण मानिन्छ।

अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार, पहिलेदेखि जीर्ण अवस्थामा रहेका पोखरीहरू संघीय तथा प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण भएपछि विभिन्न प्रजातिका माछा राखिएको र त्यसको अवलोकनका लागि ठूलो संख्यामा पर्यटक आउने गरेका छन्। सिमसार क्षेत्रभित्र रहेको अमाह देवीथान मन्दिर धार्मिक पर्यटकको प्रमुख आस्थालय मानिन्छ।

विशेषगरी उधौली–उभौलीको समयमा यहाँ विशेष पूजा गरिनुका साथै ‘हराएको सामान फेला पर्छ’ भन्ने जनविश्वासका कारण दैनन्दिन भक्तजनको भीड लाग्ने गरेको अध्यक्ष घलेले बताए।

उनका अनुसार दैनिक २,००० देखि २,५०० पर्यटक अमाह सिमसार पुग्ने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदामा यो संख्या १०,००० सम्म पुग्छ। लगभग ७०–८० समूह एकैपटक वनभोज (पिकनिक) गर्न सक्ने विशाल खुला क्षेत्र भएकाले विद्यार्थी भ्रमण, पारिवारिक पिकनिक र समूहगत पर्यटनका लागि यो क्षेत्र अत्यधिक लोकप्रिय बन्दै गएको छ। असोजदेखि माघ र फागुनमा पर्यटकको भीड झनै बढ्ने गर्दछ।

सिमसार नजिकै सामुदायिक वन रहेको र साँझपख हात्ती देखा पर्ने सम्भावना भएकाले सुरक्षा दृष्टिले ५:३० बजेपछि पर्यटकहरूलाई फर्काइने व्यवस्था गरिएको घलेले बताए। सिमसार क्षेत्रमा हरिण, बँदेल, अजिङ्गर, बाँदर, दुम्सी, चिललगायत वन्यजन्तु पाइने भएकाले जैविक विविधता अवलोकन गर्न चाहने पर्यटकको पनि यहाँ आकर्षण बढ्दो छ। पर्यटक बढेसँगै आधा दर्जनभन्दा बढी स्थानीय व्यवसायीले सिमसार क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन्।

प्रदेश सरकारले २०७८/७९ मा २० लाख र २०७६/७७ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरी कम्पाउण्ड, गेट र चिल्ड्रेन पार्क निर्माण गरेको अध्यक्ष घलेले जानकारी दिए। पोखरी जीर्णोद्धार, जनावर बासस्थान संरक्षण र सिमसार विकासका लागि हरेक वर्ष संघीय तथा प्रदेश सरकारबाट सहयोग भइरहेको उनले उल्लेख गरे।

८ मंसिर २०८२