पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ हर्कपुरस्थित अत्याधुनिक बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी भएको छ। आज बिहान करिब १० बजे विद्युत् सर्ट सर्किटका कारण रिसोर्टको काठबाट निर्मित मुख्य हलमा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको भए पनि करिब ५०० जना अट्ने मुख्य हल र रिसेप्सन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। क्षतिको प्रारम्भिक अनुमान अनुसार करोडौंको क्षति भएको र यकिन विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
विदेशबाट फर्किएका युवा उद्यमी सन्तोष धितालले नौ वर्ष लगाएर निर्माण गरेका उक्त रिसोर्ट डेढ वर्षअघिमात्र सञ्चालनमा आएको थियो। ‘र्याम्ड अर्थ’ प्रविधि, काठको कलात्मक प्रयोग र प्राकृतिक सौन्दर्ययुक्त संरचनाले रिसोर्ट छोटो समयमै लोकप्रिय बनेको थियो।
आगलागीको विस्तृत कारण र क्षतिको थप विवरणबारे अनुसन्धान भइरहेको छ।








