गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको अध्यक्षतामा सञ्चालित अंशुभरा ग्रुपले पोखराको लेकसाइडमा नयाँ लक्जरी रिसोर्ट ‘बगैंचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा ल्याएको छ। करिब ७० करोड रूपैयाँको लगानीमा चार रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा ३२ वटा लक्जरी सुइट कोठा छन्, जसमा स्ट्याण्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट र बगैंचा सुइट उपलब्ध छन्। प्रति रातको कोठा दर १५० डलरदेखि ३५० डलरसम्म तोकिएको छ।
बुधबार उद्घाटन गरिएको रिसोर्टको उद्घाटन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी हुन्। उनले ‘देशमा केही पनि भएको छैन’ भन्ने सोच गलत भएको भन्दै, स्वदेशमै श्रम गर्ने हो भने इज्जत र आम्दानी दुबै सम्भव हुने बताइन्। उनले रिसोर्टको वातावरणमैत्री निर्माण र स्थानीय सामग्रीको प्रयोगप्रति प्रशंसा गर्दै मन्त्री थापालाई धन्यवाद दिइन्।
रिसोर्टमा टारो पुलसाइड बार, मरिच इन्डो–चाइनीज र उमामी प्यान–एशियन रेष्टुरेन्टसहित नेपाली परम्परागत तथा बहुराष्ट्रिय खानाको स्वाद लिन सकिने व्यवस्था गरिएको छ। प्लास्टिक मुक्त नीति, वर्षातको पानी संकलन, काठ, ढुंगा, हस्तकलाको प्रयोग तथा महिला उद्यमी र राउटे समुदायका सामग्रीको प्राथमिकता दिइएको छ।
स्पा सेवामा पारम्परिक नेपाली उपचार, योग, सिङ्गिङ बाउल थेरापी र साउन्ड हिलिङ समावेश छन्। निर्देशक सौगात थापाका अनुसार, रिसोर्टले आधुनिक सौन्दर्य, परम्परागत स्वाद र वातावरणमैत्री प्रविधिको संयोजनमार्फत पोखराको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास लिएको छ।
गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अन्नपूर्ण पदमार्गमा आउने पर्यटकका लागि रिसोर्ट आश्रमसरह हुने बताए। मन्त्री थापाले युवा पुस्तालाई व्यवसाय हस्तान्तरण गर्ने क्रममा यो रिसोर्ट उदाहरणीय भएको उल्लेख गरे।








