पहाडकी रानी उपनामले परिचित पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना हुने भएको छ ।
बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन, गन्तव्यको पहिचान र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्यका साथ सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरिएको काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको बताए ।
भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी वैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय गठन गरिएको छ । सचिवालय संयोजक वैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको सङ्ख्या दोब्बर बनाउने योजना छ । “भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक ल्याउने योजना बनाएका छौँ”, उनको भनाइ छ, “भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटक बन्दीपुर पुर्याउने हाम्रो लक्ष्य छ ।”
गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाई तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक रु तीन हजार पुर्याइनेछ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय पर्यटक अट्ने क्षमता छ ।