वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रको ७२ वर्षको उमेरमा निधन भएको छ। डेंगी सङ्क्रमित उनको उपचारका क्रममा आज (आइतबार) बिहान निधन भएको परिवारजनले जानकारी दिएका छन् । उनी दशैँको फूलपातीदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए। आज बिहान सघन उपचारकै क्रममा उनको निधन भएको हो ।
मिश्र द टेम्पल टाइगर ग्रुपका अध्यक्ष हुनुका साथै नेपाली पर्यटनमा वाइल्डलाइफ टुरिजमको प्रवर्द्धकको रूपमा अग्रणी भूमिका निर्वाह गरेका थिए। चितवन राष्ट्रिय निकुञ्जमा रिसोर्ट सञ्चालन गरेर विदेशी पर्यटकलाई नेपालका वन्यजन्तु र प्राकृतिक सौन्दर्यसँग परिचित गराउन उनको विशेष योगदान थियो। उनले घना जङ्गलभित्र सुविधा सम्पन्न टेन्ट स्थापना गरी दक्षिण एसियामा नै पहिलो पटक जङ्गल रिसोर्टको अवधारणा ल्याएका थिए। नेपालमा खर्चालु तथा गुणस्तरीय पर्यटक भित्र्याउने कम व्यवसायीमध्ये उनी एक हुन् । उनले विश्वमा नै पर्यटन र निकुञ्जसँगै अगाडि बढ्न सक्छन् भन्ने उदाहरण समेत दिएका थिए।
उनी नेपाल पर्यटन बोर्डको संस्थापक सदस्य समेत रहेका थिए । साथै, सन् १९९२ देखि १९९६ सम्म प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को नेपाल च्याप्टरको अध्यक्ष रहेका थिए। उनी पाटा इन्टरनेशनलका सचिव एवं कोषाध्यक्ष समेत रहेका थिए। उनको नेतृत्वले नेपाली पर्यटनमा वन्यजन्तु र साहसिक पर्यटनको महत्त्वपूर्ण स्थान बनाएको थियो। उनी एसोसिएसन अफ टुर अपरेटर्सको पनि अध्यक्ष रहेका थिए । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली व्यवसायीको प्रतिनिधित्व गरेका मिश्र चिलीका अवैतनिक वाणिज्य दूत थिए।
मिश्रले पर्यटन क्षेत्रमा करिब ४ दशक लामो योगदान पुर्याएका छन्। उनले ट्रेकिङ, र्याफ्टिङ, ट्राभल एजेन्सी र जङ्गल रिसोर्ट सञ्चालन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले नेपालको पर्यटन विकासका लागि जीवनभर क्रियाशील रहनुका साथै वाइल्डलाइफ टुरिजमबाट नेपाललाई समृद्ध बनाउने सपना देखेका थिए, जुन सपना उनको निधनसँगै अधुरै रहेको छ । उनको निधनले नेपाली पर्यटन क्षेत्रले एक अग्रज र अनुभवी नेतृत्व गुमाएको पाटा नेपालका अध्यक्ष खेम लकाई बताउँछन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।