बाराको गढीमाई मन्दिर परिसरमा बनाइएको आकर्षक विवाह मण्डप ऐतिहासिक पञ्चवर्षीय मेलाको छेको पारेर उद्घाटन गरिएको छ । उद्घाटनसँगै हाललाई विवाह मण्डपमा गढीमाई पञ्चवर्षीय मेला मूल समितिको कार्यालय स्थापना गरिएको छ ।
गढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवका अनुसार मण्डप मधेश प्रदेश सरकारको करिब ६ करोड ५७ लाख लागतमा निर्माण गरिएको हो । प्रदेश सरकारले मण्डपको स्वामित्व भने नगरपालिकालाई सुम्पेको छ ।
यादवका अनुसार यसपटकको मेला भर्न पुग्ने विशिष्ट पाहुनाहरूलाई निःशुल्क रूपमा विवाह मण्डभित्रै राख्ने व्यवस्था मिलाइएको छ । मेला सकिएपछि भने मण्डपलाई धार्मिक पर्यटकीय थलोका रूपमा विकास गर्दै पर्यटकलाई न्यून शुल्कमा बस्ने व्यवस्था मिलाइने उनले बताए ।
त्यसका लागि मेला सकिएपछि समिति र कार्यविधि बनाएर टेन्डर आह्वान गरिने मेयर यादवको भनाइ छ । मण्डप पूर्ण रूपमा सञ्चालनमा आएपछि धार्मिक पर्यटकहरूले बस्न पाउनुका साथै विवाहलगायत अन्य उत्सवको आयोजना पनि गर्न पाइने यादव बताउँछन् । विवाह मण्डप मिथिलाको जानकी मन्दिरको झल्को दिने गरी नेपाली कालिगडहरूले तयार पारेका हुन् ।
हिन्दु धर्मावलम्बीहरूका लागि बाराको गढीमाई मन्दिर विशेष शक्ति पीठ हो । शान्त अनि हरियाली फाँटको बीचमा रहेको गढीमाई मन्दिर बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट करिब ८ किलोमिटर पूर्व बरियारपुरमा छ ।
मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने विशेष मेलामा नेपाल र भारतका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरूको ओइरो लाग्ने गरेको छ । मेला बाहेक अन्य समयमा पनि साथै यो शक्ति पीठमा वर्सेनी हजारौँ दर्शनार्थीहरू पनि आउने गरेका छन् ।