वेगनाश तालमा मोटरबोटको मज्जा, कति लाग्छ शुल्क ?


टुरिजम पाना पोखरा । १४ असार २०८०
फाइल तस्वीर

पर्यटकीय नगरी पोखरा घुम्न जानेहरूले वेगनास तालमा मोटरबोटको मज्जा लिन पाउने भएका छन् । गत जेठको दोस्रो सातादेखि वेगनास तालमा मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

वेगनास ताल व्यवस्थापन समितिका अनुसार, तालमा घुम्न पुगेकाहरूलाई समूह बनाएर मोटरबोटमा सयर गर्ने अवसर दिने गरिएको छ ।

तालबाटबाट बराह मन्दिर क्षेत्र, पर्यटकीय हब माछिकुना, कृषि फार्म, वेगनाश तालको शीर स्यांखुदी, कपासे, लिब्दी चुँदीकोट लगायतका ठाउँ जानका लागि मोटरबोट प्रयोग गर्न सकिने समितिका अध्यक्ष रविराज कँडेलले जानकारी दिए ।

अहिले प्रतिव्यक्ति चार सय रुपैयाँमा मोटरबोटमा ताल घुम्न पाइने छ । तर पछि यो शुल्क केही घट्न सक्ने व्यवस्थापन समितिले जनाएको छ ।

चालकसहित २० जना बोक्ने मोटरबोटको क्षमता छ । त्यसैले १९ जनासम्मको टिम बनाएर गएमा पनि तालमा मोटरबोटमा ताल घुम्न सकिनेछ ।
यसबाहेक ५/७ जनाको समूहलाई पनि मोटरबोटमा घुमाउने व्यवस्था गरिएको छ ।

मोटरबोटले आन्तरिक पर्यटनको प्रवद्र्धन मात्र गर्दैन । ताल आसपासका गाउँबाट आउने बिरामीहरूलाई ताल तार्ने, तालमा केही दुर्घटना भइहालेमा उद्धार गर्ने जस्ता काम पनि गर्ने गरिएको व्यवस्थापन समितिका अध्यक्ष कँडेलले जानकारी दिए ।

मोटरबोटमा यात्रुहरूको सुरक्षाका लागि प्रति यात्रु सात लाख रुपैयाँका दरले यात्रु बिमा गरिएको छ । यस्तै लाइफ ज्याकेट लगायतका सुरक्षाका सामाग्रीहरूको पनि व्यवस्था गरिएको छ । पर्यटकले टिकट काटेर मोटरबोट चढ्न सक्नेछन् ।

पोखरा महानगरपालिकाको ताल्चोकबाट ३ किमी पूर्व लागेपछि सवारी साधनमा सहजै वेगनास ताल पुग्न सकिन्छ ।

१४ असार २०८०