भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुने भएको छ । कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ उक्त महोत्सव आयोजना गरिएको मूल समारोह समितिका संयोजक एवं नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
महोत्सवको प्रमुख उद्देश्य भनेकै पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरबासीको आर्थिक विकासमा योगदान पुर्याउने रहेको प्रमुख प्रजापति बताउँछन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको अर्को उद्देश्य हो भन्दै उनले भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरि व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने नीति पनि रहेको बताए ।
यस्तै, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले पूर्खाले सिर्जेका अमूल्य सम्पदाहरूकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारिरहेको र महोत्सवलाई भक्तपुरका गतिविधिहरू प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिने बताए । ‘२०५४ सालको भक्तपुर महोत्सवपछिको भव्य महोत्सवको रूपमा भक्तपुर महोत्सव २०८१ सञ्चालन हुन लागिएको हो, उनी भन्छन् ‘महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । महोत्सवबाट ६० लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ ।’