ललितपुरको भारदेउ–कोन्ज्योसोम: राजधानी नजिकैको धार्मिक, प्राकृतिक र सांस्कृतिक गन्तव्य

शान्त ग्रामीण वातावरण, मौलिक संस्कृति, ऐतिहासिक सम्पदा र हिमाल अवलोकनको दुर्लभ अवसरका कारण भारदेउ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा


बिपिन घिमिरे भारदेउ, ललितपुर । ११ पुष २०८२
फोटो सौजन्य: लक्ष्मीप्रसाद ङाखुसी

 

ललितपुरको दक्षिण–पूर्वी भेगमा अवस्थित कोन्ज्योसोम गाउँपालिका–५ अन्तर्गतको भारदेउ क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र रूपमा पर्यटकीय गन्तव्यका रूपमा उदाउँदै गएको छ। काठमाडौं उपत्यकाबाट नजिकै रहे पनि अपेक्षाकृत शान्त ग्रामीण वातावरण, मौलिक संस्कृति, ऐतिहासिक सम्पदा र हिमाल अवलोकनको दुर्लभ अवसरका कारण भारदेउ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो।

धार्मिक, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संगम बनेको यो गाउँ पदयात्रा, ग्रामीण जीवनशैली अनुभव र आध्यात्मिक पर्यटन का लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

१२७ वर्ष पुरानो ‘१७ झ्याले’ घर : भारदेउको पहिचान


सातदोबाटोबाट करिब २२ किलोमिटर टाढा रहेको भारदेउको मुख्य आकर्षण हो १२७ वर्ष पुरानो ‘१७ झ्याले’ घर। स्थानीय लालकाजी मोक्तानका पुर्खाले दाप्चाबाट ल्याइएको काठ र मौलिक नेवार–तामाङ शैलीको वास्तुकलामा निर्माण गरिएको यो घर तीन ठूला भूकम्प (वि.सं. १९९०, २०४५ र २०७२) बाट समेत सुरक्षित रहन सफल भएको छ।

सत्र झ्याले घरमा समुहमा सुत्ने ठाउँ

 

सदियौँ पुरानो यो संरचना आज भारदेउको पर्यटन पहिचान बनेको छ। शुक्रबार र सार्वजनिक बिदाका दिन यहाँ सञ्चालनमा रहेका होमस्टेमा कोठा पाउन मुस्किल हुने गरेको मोक्तान बताउँछन्।

हाल १७ झ्याले घरसहित ‘रातो घर’, ‘पहेंलो घर’ र ‘भारदेउ मिनी रिसोर्ट’ गरी चारवटा होमस्टे सञ्चालनमा छन्। बढ्दो पर्यटक चापलाई ध्यानमा राख्दै २०–२५ पुराना घरलाई सामुदायिक होमस्टेमा रूपान्तरण गर्ने तयारीसमेत भइरहेको छ, जसले भारदेउलाई व्यवस्थित पर्यटन–ग्राम का रूपमा विकास गर्ने संकेत देखिएको छ।

कोन्ज्योसोम (फूलबारी) डाँडा : २,५७५ मिटर उचाइबाट हिमशृङ्खला अवलोकन 


फूलचोकी डाँडाको दक्षिण–पूर्वी भागमा रहेको फूलबारी डाँडा, जसलाई स्थानीय भाषामा कोन्ज्योसोम पनि भनिन्छ, समुद्री सतहबाट २,५७५ मिटर उचाइमा अवस्थित छ। यहाँबाट सगरमाथा, कञ्चनजंघा, माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, गौरीशंकर, गणेश, लाङटाङ, जुगललगायत दर्जनभन्दा बढी हिमशृङ्खलाको एकै स्थानबाट अवलोकन गर्न सकिन्छ। हिमपात, गुराँसका जंगल, हरियाली र स्वच्छ हावाले यो क्षेत्रलाई अझ आकर्षक बनाएको छ।

२,५७५ मिटर उचाइमा त्रिरत्नको मूर्ति

 

‘कोञ्ज्योसोम’ नाम तामाङ भाषाबाट आएको शब्द हो । तामाङ भाषमा कोञ्ज्योको अर्थ ‘रत्न’ वा ‘भगवान’ र सोमको अर्थ ‘तीन’ भन्ने हुन्छ । स्थानीयका अनुसार कोञ्ज्योसोमलाई बौद्ध धर्मसँग जोड्दा ‘त्रिरत्न’को रुपमा हेरिन्छ । बुद्ध धर्ममा त्रिरत्न अथवा तीन रत्न भन्नले बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई तीन रत्न अथवा त्रिरत्न मानिन्छ । बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको परिनिर्वाण पश्चात् बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भएका छन् । तिनै संघका नियममा आवद्ध भइ बौद्ध धर्मलाई आध्यात्मिक रुपमा पालना गर्ने परम्परा रहेको स्थानीयले बताएका छन् ।

डाँडाको फेदीमा रहेको गुप्तेश्वर महादेव मन्दिर र गुफा हिन्दू–बौद्ध दुवै समुदायका लागि आस्थाको केन्द्र हो। स्थानीय विश्वासअनुसार खडेरीको समयमा यहाँ पूजा–आराधना गरे वर्षा हुने जनविश्वास आज पनि जीवित छ।

साउन महिना, शिवरात्रि र बालाचतुर्दशीमा ठूलो मेला लाग्ने गर्छ भने त्रिरत्न क्षेत्र वरिपरि सोनाम ल्होसार, बुद्ध जयन्ती र वैशाख पूर्णिमा विशेष रूपमा मनाइन्छ।

तामाङ पदमार्ग : संस्कृति, प्रकृति र ग्रामीण जीवनको संगम 


कोन्ज्योसोम गाउँपालिकाले तामाङ संस्कृति र रैथाने खानासँग पर्यटनलाई जोड्ने उद्देश्यले ‘तामाङ पदमार्ग’ विकास गरेको छ। यो पदमार्ग गोदावरी–फूलचोकी हुँदै फूलबारी डाँडा र कोन्ज्योसोम झरनासम्म फैलिएको छ।

जंगल यात्रा, स्थानीय बस्ती अवलोकन, धार्मिक स्थल भ्रमण र हिमाल दृश्यको मिश्रित अनुभव दिने यो पदमार्ग हाइकिङ र छोटो ट्रेकिङ मन पराउने पर्यटकका लागि आकर्षक विकल्प बनेको छ।

स्थानीय संस्कृति, खानपान र जीवनशैली
भारदेउमा करिब ८० प्रतिशतभन्दा बढी तामाङ समुदायको बसोबास रहेको छ, जसले यहाँको सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ। पर्यटकले यहाँ ट्राउट माछा, लोकल कुखुरा, आलुका परिकार, खुवा, अर्गानिक फलफूल र तरकारी जस्ता रैथाने स्वादको अनुभव गर्न सक्छन्।

सशंखु नजिकै रहेको कोन्ज्योसोम झरना पिकनिक र पदयात्राका लागि लोकप्रिय बन्दै गएको छ। साथै थानापाटी गुफा, पाथीभरा मन्दिर, छर्योतेन, स्थानीय गुम्बा र ऐतिहासिक बस्तीहरूको अवलोकनले पर्यटकलाई विविध अनुभव प्रदान गर्छ।

कसरी पुग्ने?
सातदोबाटो–ढोलाहिटी–ठेचो–सुनाकोठी–चापागाउँ हुँदै भारदेउ पुग्न सकिन्छ। हाल करिब आधा सडक कालोपत्रे भए पनि बाँकी खण्ड कच्ची रहेको छ। दैनिक दुईवटा मात्र सार्वजनिक सवारी चल्ने भएकाले यात्रुहरूलाई केही असहज हुने गरेको छ।

यद्यपि बागमती प्रदेश सरकारले सडक कालोपत्रे निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको ले आगामी दिनमा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

के लैजाने कोशेली ?
स्थानीय ताजा तरकारी, ट्राउट माछा, लोकल कुखुरा, आलुका परिकार, र खुवा

कति लाग्छ खर्च ?
भारदेउको को १७ झ्याले घरमा बस्नको लागि प्याकेजमा एक रातको प्रतिव्यक्ति १७०० रुपैयाँ खर्च हुन्छ । जसमा एक रात बस्न, नन भेज थकाली खाना (डिनर) र ब्रेकफास्ट उपलब्ध हुन्छ । यसका साथै त्यस ठाउँमा घुम्नको लागि एक हजार रुपैयाँदेखि १५०० रुपैयाँ सम्म थप खर्च गर्ने हो भने लोकल गाइडको पनि व्यवस्था हुन्छ । छोटो हाइकिङ नगरी गाडिमा नै कोञ्ज्योसोम डाँडा घुम्ने भएमा होमस्टेले गाडिको व्यवस्था गरिदिन्छ । तर, त्यसको लागि खर्च भने आफैँ गर्नु पर्छ । त्यहाँ ललितपुरको लगनखेलदेखि लोकल बसमा पनि जान सकिन्छ । त्यसको लागि प्रतिव्यक्ति एकतर्फी करिब २०० रुपैयाँ भाडा तिर्नुपर्छ ।

भारदेउ गाउँ

 

भारदेउ गाउँको डाँडाबाट कैद गरिएको दृश्य

 

गुप्तेश्वर महादेवको गुफा

 

गुप्तेश्वर महादेव मन्दिर
११ पुष २०८२