क्यानको वार्षिकोत्सवमा कर्मचारी नेताको गुनासो : जग बसाल्नेलाई पाखा, धुरी चढ्नेलाई काख नहोस्


नेपाल नागरिक उड्डयन प्राधिकरणले २४ औं वार्षिकोत्सव मनाएको छ । शनिवार एक कार्यक्रम आयोजना गरि प्राधिकरणले वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।

कार्यक्रममा यस्तै प्राधिकरणको कर्मचारी युनियनका अध्यक्ष मिनप्रसाद खनालले प्राधिकरणमा कामको जग बसाल्ने कर्मचारी बेवास्ता गर्ने गरेको आरोप लगाएका छन् ।

उनले पछिल्लो समय प्राधिकरणमा कामको जग बसाल्ने कर्मचारीलाई बेवास्ता गर्दै धुरी चड्ने कर्मचारीलाई अवसर दिने गरेको बताए ।

उनले भने,’प्राधिकरणमा पछिल्लो समय यस्तो प्रचलन हावी हुँदै गएको छ । धुरी चड्ने कर्मचारीलाई अवसर दिने कामको अन्त्य हुनुपर्छ ।’

कार्यक्रममा प्रमुख अतिथि रहेका अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का एसिया प्यासिफिकका रिजनल डाइरेक्टर ताओ माले नेपालले उड्डयन क्षेत्रमा सुधार गर्दै गइरहेको बताएका छन् ।

उनले अझै सुधार्नका लागि आवस्यक समन्वय गर्न आईकाओ सधैं तयार रहेको समेत बताएका छन् ।

यस्तै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्राधिकरण अझै सशक्त संस्था बन्नुपर्नेमा जोड दिए ।

प्राधिकरणले आम्दानीलाई पनि केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पछिल्लो समय हवाइ इन्धनको मूल्य महङ्गो भएको भन्दै यसले व्यवसाय धान्न अफ्ट्यारो भएको सुनाए ।

उनले नेपाली आकाश सुरक्षित रहेको भन्दै एयरलायन्स सञ्चालक उड्डयन सुरक्षामा संवेदनशील रहेको समेत बताए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्डलाई अक्षरस पालना गर्ने काम भइरहेको बताए ।

उनले पछिल्लो वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रु दोब्बर भएको र अन्तरिक उडान तर्फ पनि उत्साहजनक वृद्धि भएको जानकारी दिए ।

१६ पुष २०७९